
कराँते प्रशिक्षकविरुद्ध जबरजस्ती करणी मुद्दाको थुनछेक बहस आइतवार नसकिएपछि सोमवारका लागि सारिएको छ । विराट हेल्थ कलेजमा अध्ययनरत किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका दुई जना कराँतेका प्रशिक्षकविरुद्ध थुनछेक बहस सोमवार पनि जारी रहने भएको हो । सामूहिक करणीको आरोपमा कराँते प्रक्षिकहरू सुरज भनिने अमर सुवेदी र उनका साथी विनोद राउतलाई प्रहरीले साउन ८ गते पक्राउ गरेको थियो ।
उनीहरूविरुद्ध जिल्ला अदालत मोरङमा सामूहिक करणी मुद्दा दर्ता भएको थियो । आइतवार जिल्ला न्यायाधीश राजेश खड्काको इजलासमा मुद्दाको थुनछेक बहस शुरु भएको हो । आइतवार सरकारी वकिलले बहस गरेका थिए । समय नपुगेपछि प्रतिवादी पक्षको बहस सोमवार हुने अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय मोरङले सुवेदी र राउतले सामूहिक करणी गरेको दाबीसहित अधिकतम १५ वर्षसम्मको कैद सजाय माग गरेको छ । जिल्ला अदालतमा दायर गरिएको अभियोग पत्रमा किशोरीलाई धम्की दिएर करणी गरेको उल्लेख छ ।
सुवेदी छात्रा अध्ययनरत कलेजका अनुशासन इन्चार्ज पनि हुन् । सुवेदीले बलात्कार गरेपछि साथी विराटनगर ३ का ५० वर्षीय विनोद राउतलाई पनि बोलाएर होटेलमा जेठ अन्तिम साता सामूहिक बलात्कार गरेको अभियोग पत्रमा उल्लेख छ । उक्त युवतीले आफूलाई बारम्बार बलात्कार गरिएकाे बताएकी छन् । बयानमा उनले आफूले बलात्कारबाट बच्न तीनवटक डेरा सर्दा पनि अभियुक्तहरूले नछाडेकाे उल्लेख गरेकी छन् ।
राउत र सुवेदी राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट स्थायी नियुक्ति पाएका कराँतेका प्रशिक्षक हुन् । २०५२ सालमा करारमा प्रशिक्षक नियुक्त गरिएका दुवै जनाले २०६१ सालदेखि स्थायी प्रशिक्षकको नियुक्ति पाएका थिए ।
पीडित किशोरीको अदालतमा दिएको बयान
विराटनगरस्थित विराट हेल्थ कलेजमा तेस्रो वर्षमा डी फार्मेसीमा अध्ययनरत रहेको छु । विपक्षी सुरज सुवेदीसँग पढाइको सिलसिलामा चिनजान भएको हो । आजभन्दा ४ महिना पहिला मेरो दोस्रो वर्षको फाइनल परीक्षा चलिरहेकोमा सुवेदीले चिट दिन खोज्दा मैले लिन मानिन र चिट फुत्त फ्याँकेर बाहिर निस्कनु भयो । परीक्षा सकेपश्चात म कोठामा गए ।
सुवेदी मेरो पछिबाट आई ढोका ढकढक्याउँदा मैले ढोका खोली दिए । मसँग पानी खान माग्नुभयो । मैले पानी दिए । पानी खाएपछि सुवेदीले १ सय रुपैयाँ दिएर चुरोट किन्न पठाउनु भयो । चुरोट लिएर आएपश्चात मलाई पानी पिउन दिनुभयो । पानी खाई सकेपछि केही क्षणमा चक्कर लागेजस्तो भयो । टाउको धोइ पखाली गरेर अत्यधिक रिगंटा लागेको हुँदा भुइँमा रहेको म्याट्रेसमा सुते । म त्यही निदाएछु । भोलिपल्ट ब्युँझदा कोठामा बियरको बोतल, चुरोटको ठुटा र कागज छरपस्ट थियो । बेड कभरमा रगतको टाटै–टाटा थियो । मेरो भित्री वस्त्रसमेत नभएको अवस्था थियो ।
सुवेदी मेरो कोठामा आई मलाई झुक्याएर पानीमा नशालु पदार्थ मिसाएर मलाई खुवाई बेहोस बनाएर जबरजस्ती करणी गरी गएका थिए । त्यसपछि म बिरामी भई क्याम्पस नगई कोठामै बसेको थिए । मलाई यकिन मिति समय थाहा भएन सो घटना भएको ३/४ दिनपछि बिहान ६ बजेतिर सुरज सर मेरो कोठा आउनुभयो । त्यसपछि मैले तपाईं किन मेरो कोठामा आई मलाई झुक्काएर नशालु पदार्थ खुवाएर बेहोस पारी बियर चुरोट मेरो कोठामा ल्याई खाएर मलाई रेप गरी जानुभयो भन्दा सरले मलाई निजले रेप गरेको नराम्रो भिडियो देखाउनुभयो । म त डरले केही भन्न सकिन रून मात्र सके । त्यसपछि विभिन्न मिति समयमा निज मेरो कोठामा आएर सोही भिडियो देखाउँदै कोही कसैलाई सो बारेमा बताएमा भिडियो भाइरल गरी दिन्छु भन्दै मलाई पटक–पटक जबरजस्ती करणी गर्नुभयो ।
उक्त भिडियो भाइरल बनाई मेरो बेइज्जत गर्छ भन्ने डरले निजले म उपर गरेको घटनाको बारेमा कसैलाई बताउन सकिन । त्यसपछि दिउँसोको प्रायः २ बजेको समयमा सुवेदी मेरो कोठामा प्रायः बियर लिएर आउने, यो खाने कुरा बना, त्यो खाने कुरा बना भन्दै खानेकुरा बनाउन लगाउने खाने गर्न थाले । मलाई जबरजस्ती बियर, चुरोट नशालु पदार्थ सेवन गर्न लगाउने, खान नमान्दा मलाई चुरोटले पोल्ने, कुट्ने, मार्ने धम्की दिने, भिडियो देखाई दिन्छु भन्दै धम्काउने र सुवेदीले बनाएको अश्लील भिडियो देखाएर मलाई जबरजस्ती करणी गरी जाने त क्याम्पस जानु पर्दैन भनी क्याम्पस जानबाट रोक लगाउन थाल्यो । सुवेदी शिक्षक भएकोले म क्याम्पस गएपछि गेटबाटै फर्काउने र भिडियो सार्वजनिक गरी दिने डरले म क्याम्पस जान सकिन ।
मलाई यकिन मिति समय याद भएन वैशाख जेठ महिनातिर सुवेदी मेरो कोठामा आई मलाई लिएर विराट नर्सिङ होम अस्पताल अगाडि रहेको विराट होटेलमा पु¥याए । उक्त होटेलको साहुसँग कोठाको कुरा गरी मलाई कोठामा राख्यो । कोठाभित्र पस्नेबित्तिकै आफ्नो भेष्ट खोलेर राख्दै बियर खोल्न लाग्यो । मैले बियर खान्न मेरो पिरियड भएको छ । म सक्दिन भन्दाभन्दै नाटक गर्छेस् भन्दै जबरजस्ती बियर खुवायो र २ पटक जबरजस्ती करणी गरी फोन गरेर विनोद राउत भन्ने साथीलाई बोलायो । सुवेदीले फोन गरी विनोद भन्ने साथीलाई बोलाउँदा फोनमा हामी बियर र गर्लफ्रेन्ड शेयर गर्नुपर्छ भन्दै थियो । त्यसपछि विनोद भन्ने मान्छेसमेत आएर मलाई जबरजस्ती करणी ग¥यो र सुरज सरको डरले मैले केही पनि भन्न सकिन ।
सुरज सरले मलाई डर त्रासमा पारी धाक धम्की दिई बियर, चुरोट, विभिन्न किसिमको नशालु पदार्थ खुवाएर बारम्बार जबरजस्ती करणी गरी मलाई क्याम्पससमेत जान नदिई मेरो भविष्य बिगार्दै गएकोले सो घटनाको बारेमा सुवेदीको छोरालाई पनि फोन र म्यासेजबाट घटना सुनाएको थिए ।
सुवेदीले साथीलाई पनि बलात्कार गर्न लगाएपछि जेठ महिनाको अन्तिम तिर धरान आइज भन्दै धम्काएपछि म एक्लै बस चढी दिनको १ बजेको समयमा धरान पुगे । सुवेदीले मोटरसाइकलमा चढाएर संखुवासभाको खाँदबारी पु¥यायो । खाँदबारीस्थित भेनस होटेलमा ३ दिन राखी मलाई पटक–पटक जबरजस्ती करणी गर्यो । सुवेदीले मेरो क्याम्पसमा समेत मेरो बुबा आमाको सम्पर्क नम्बर मेटाएर आफ्नो नम्बर राखेको थियो ।
सुवेदीको डरले म अधिकारी थरको मानिसको घरबाट खार्जीमै रहेको रेग्मी थरको मानिसको घरमा कोठा सरे । त्यो कोठासमेत पत्ता लगाएर निज आई धाकधम्की दिई मलाई जबरजस्ती करणी गरे । त्यसपछि मैले त्यहाँबाट समेत पोखरेल थरको मानिसको घरमा कोठा सारे । त्यो कोठा समेत निजले पत्ता लगाई त्यहाँ समेत आएर २०७९ असार २८ गते जबरजस्ती करणी गयो । मिति २०७९ असार ३० गते निज पुनः मेरो कोठामा आयो । मैले अब प्रान्त म त्यस्तो कार्य गर्न सक्दिन, तपाईं मलाई दुनियाँका अन्य लोग्ने मानिसहरूसँग शारीरिक सम्पर्क राख्न लगाउनु हुन्छ मेरो पढाई, लाइफ बर्बाद बनाई दिनु भयो म तपाईंको बारेमा परिवारलाई भनिदिन्छु र आत्महत्या गरी दिन्छु भन्दा सुवेदी चुपचाप केही नबोली फर्किएर गयो ।