
धौलागिरि हिमालको फेदी र म्याग्दी तथा कालीगण्डकी नदीको वारिपारिका ग्रामीण खेतबारीमा म्याग्देली कृषकले अग्र्यानिक खेती प्रणाली शुरू गरेका छन् ।
विशेषगरी व्यावसायिक कृषिमा युवा सहभागिता बढ्दै गएपछि जिल्लामा कृषिले व्यावसायिक रूप लिनुका साथै कृषिमा प्रविधिको प्रयोग र अग्र्यानिक खेती विस्तारको क्रम बढ्दै जान थालेको हो ।
विगत ३ वर्षयता यहाँ अग्र्यानिक खेती विस्तार भएको र यसले व्यापकता पाउँदै गएको यहाँका उपभोक्ताले बताएका छन् । ३ वर्षअघिसम्म स्थानीय तरकारीको सट्टा आयातित तरकारी खोजी गर्ने उपभोक्ता अहिले भने खोजीखोजी स्थानीय उत्पादन खरिद गर्ने गरेका छन् ।
‘अहिले सदरमुकाम बेनीका प्रायः सबैघरका भान्छामा स्थानीय उत्पादनका तरकारी पाक्ने गर्दछ,’ बेनी बजारका व्यवसायी राधिका केसीले भनिन्, ‘ग्राहक स्थानीय उत्पादनको खोजीमा हुन्छन्, गाउँगाउँबाट अग्र्यानिक तरकारी बजारमा आउन थालेपछि आयातित तरकारीको माग घटेको छ ।’
कृषकले पनि बजारमा अग्र्यानिक उत्पादनको माग बढ्दै गएपछि रासायनिक विषादीको प्रयोग गर्न छाडेका छन् । करीब ३० वर्षदेखि कृषि पेशामा लागेका बेनी नगरपालिका–२ खबराका ५९ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो २ वर्षयता आफूले फलाएको तरकारीको माग बढेपछि दंग परेका छन् ।
घर नजिकैको १४ रोपनी खेत र बारीमा प्रांगारिक तरकारी खेती गर्दै आएका कार्कीले २ वर्षअघिसम्म कहिल्यै पनि अग्र्यानिक तरकारीको बिक्री यति धेरै भएको थाहा पाएका थिएनन् । ‘म विगत ३० वर्षदेखि तरकारी खेतीमा छु, मेरो जीवनको उर्बर समय मैले मेरै खेतबारीको माटोमा बिताएको छु,’ उनले भने, ‘तर पछिल्ला २ वर्षयता जसरी मैले फलाएको तरकारीको बिक्री भयो, त्यसरी यसअघि भएको थिएन ।’
युवा नै खेतीपातीको काममा लागेपछि म्याग्दीको ग्रामीण जीवन र कृषि प्रणालीमा नयाँपन थपिएको स्थानीयको भनाइ छ । ‘लाहुरेको जिल्ला’ भनेर परिचय बनाएको म्याग्दीमा पछिल्लो समय विदेश जाने कम र विदेशबाट फर्किएर आफ्नै गाउँमा कृषिमा लगानी गरी व्यावसायिक बन्ने युवाको संख्या बढ्दै जान थालेको छ ।