
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले न्यायसम्पादनमा अदालतबाट हुने गरेको ढिलासुस्तीबारे कटाक्ष गरेका छन् । नर्भिक अस्पतालले दायर गरेको रिटमा सर्वोच्च अदालतले पेशी तोक्न ढिलाइ गरेको भन्दै उनले कटाक्ष गरेका हुन् ।
दाह्री कपाल फुलेको र बुढेसकाल लागिसकेको सन्देश दिने आफ्नो तस्बिर राखेर उनले त्यसमा लेखेको छन्, ‘नर्भिकको पेशी पर्खिँदै ।’ उनले व्यङ्ग्य गर्दै सामाजिक सञ्जालमा अगाडि लेखेका छन्, ‘अल्पकालीन आदेश आएको मुद्दाको पेशी अझै पनि आएन । सायद यो कार्यकालपछि आउँछ कि !’
यसअघि साउन २५ मा सर्वोच्च अदालतले नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सार्वजनिक जग्गामा बनाएको संरचना २४ घण्टाभित्र हटाउन भनि महानगरले दिएको निर्देशन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको थियो ।
सो अघि नर्भिक अस्पतालले ओगटेको संरचना हटाउन महानगरपालिकाका प्रमुख शाह आफैँ पुगेर सूचना टाँस गरेका थिए । महानगरको उक्त निर्देशनविरुद्ध नर्भिक अस्पतालले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको थियो । तर, मुद्दाको पेशी अझै आएको छैन ।