
खानेपानीको समस्या झेल्दै आएका काभ्रेपलाञ्चोकको बनेपा नगरवासीलाई खानेपानीको व्यवस्था हुन लागेको छ । नेपाल खानेपानी संस्थानले पानी वितरण गर्दै आए पनि अपर्याप्त भएकाले नगरवासीलाई काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको पानी ख्वाउनका लागि नगर प्रमुख शाक्य नेतृत्वमा आवश्यक पहल थालिएकामा अहिले आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।
करिब नौ वर्ष अगाडि निर्माण शुरु भएको उक्त आयोजनाको पानी अहिले बनेपाको आजाद डाँडामा रहेको खानेपानी संस्थानको मुख्य ट्यांकीमा खसालिसकिएको छ । एकीकृत खानेपानीको पानी खानेपानी संस्थानको ट्यांकीमा खसेसँगै पानी वितरणमा सहज भएको संस्थानले जनाएको छ ।
नगर प्रमुख शाक्यले निर्वाचनका बेलामा नगरवासीलाई चार महिनाभित्रमा खानेपानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकामा चार दिन अगाडि उक्त आयोजनाको पानी ल्याउन सफल भएको हो । ट्यांकीमा पानी खसालेसँगै अब पानी प्रवाह गरेर परीक्षण गर्दै उपभोक्तालाई वितरण गर्ने काममा आफू लागिरहेको उनले बताए ।
अहिले पहिलो पटकका लागि संस्थानले वितरण गर्दै आएको उपभोक्तालाई मात्रै पानी वितरण हुने र आयोजनाले जोडेको नयाँ पाइपलाईनमा पानी प्रवाह गरेर परीक्षण गर्दै नयाँ उपभोक्तलाई पनि विस्तारै वितरण गर्ने प्रक्रियामा रहेको उनले बताए ।
बनेपास्थित संस्थानको ट्यांकीमा खसेको पानीलाई धनेश्वरमा रहेको पानी ट्यांकीसँग पनि लिंक गर्नुपर्ने र पहिलादेखिको मुहान शशीपानीबाट उक्त संस्थानले ल्याएको पानीलाई आयोजनाले बनाएको मगर गाउँ र कुँइकेल गाउँमा रहेको ट्यांकीमा इन्टरलिङक गर्न बाँकी रहेकाले पानी प्रवाहको कामलाई परीक्षण गर्दै वितरणको तयारी भइरहेको छ ।
एकीकृत खानेपानीलाई बनेपा नगरपालिका–५, ६, ७, ८ र ९ का बान्सिदालाई वितरण गर्ने आयोजनाको लक्ष्य छ । यसअघि काभ्रेपलाञ्चोकको बनेपा, धुलिखेल र पनौती नगरपालिकाका बासिन्दालाई खानेपानी उपलब्ध गराउनका लागि २०६९ साल मङ्सिर २७ गते सम्झौता भई २०७० जेठ २९ गतेबाट कार्य प्रारम्भ भएको सो आयोजना सम्झौता अनुसार २०७२ साल जेठ ३२ गते सम्पन्न गर्ने गरी निर्माण कार्य थालनी भएको थियो ।
एक लाख ३६ हजार जनसंख्यालाई चौबिसै घण्टा शुद्ध खानेपानी खुवाउने योजनाका साथ कूल एक अर्ब २९ करोड ९२ लाखको लागतमा काम सुरु गरिएकामा आठौँं पटकसम्म पनि म्याद थप गरेर गरिरहेको कार्य सम्पन्न नभएपछि काम अगाडि बढेको थिएन । नेपाल सरकार, एसियाली विकास बैंक(एडिबी) नगरपालिका र खानेपानी बोर्डको सहयोगमा उक्त आयोजना निर्माण गरिएको हो ।
आयोजनामा नेपाल सरकारको २१ प्रतिशत, एडिबीको २९ प्रतिशत, स्थानीय सहभागिता(प्रत्येक नगरपालिकाबाट ५/५ प्रतिशत) १५ प्रतिशत र नगर विकास कोषको ऋण ३५ प्रतिशत रकम जुटाइ आयोजना निर्माण थालिएको थियो । ३५ प्रतिशतमा पानी उपभोग गर्ने उपभोक्ताबाट लिएको महसुलबाट सम्झौता भएको १५ वर्षभित्रमा तिरिसक्ने गरी योजना अगाडि बढाइएको थियो । रासस