
डा युवराज संग्रौला र डा गोविन्द प्रसाद कुसुमले लेखेको बेग्लाबेग्लै दुई उपन्यास सोमवार विमोचन गरिएको छ ।
संग्रौलाको 'एकादेशका बाँदर' र कुसुमको 'पर्खाल' उपन्यास राजधानीमा एक कार्यक्रमबीच विमोचन गरिएको हो ।
विमोचन समारोहमा प्राज्ञ डा अमर गिरीले 'पर्खाल' तथा प्रा डा रमेश भट्टराईले 'एकादेशको बाँदर'को समीक्षा गरेका थिए ।
'पर्खाल' उपन्यासमा दाङको परिवेशमा भएका अनेकौं सामाजिक विकृति विसंगतिको यथार्थ चित्रण गरिएको गिरीले टिप्पणी गरे । सरल भाषाशैलीमा यथार्थपरक दृष्टिकोण अपनाउँदै उपन्यासले शोषित पीडित समुदायको पक्षमा कलम चलाएको उनको भनाइ छ ।
'एकादेशका बाँदर' व्यंग्यात्मक उपन्यास भएको र यसले पर्यावरणीय चेत समेत उम्दा रूपमा प्रस्तुत गरेको भट्टराईले टिप्पणी गरे । संग्रौला अरूबाट प्रभावित नभई आफ्नै प्रभाव छोड्न सक्ने लेखक भएको भन्दै उनले प्रशंसा गरे ।
साहित्यकार विन्दु अधिकारीले पनि 'एकादेशको बाँदर'माथि टिप्पणी गर्दै उपन्यासले नेपाली समाजको वर्तमान अवस्थाको सटीक चित्र प्रस्तुत गरेको बताइन् । उपन्यासमा काठमाडौं स्कूल अफ लका विद्यार्थी चन्द्रशेखर केसीले पनि टिप्पणी गरेका थिए ।
विमोचन समारोहमा मन्तव्य राख्दै डा गोविन्द प्रसाद कुसुमले आफ्नो अनुभव र भोगाइका आधारमा व्याख्यात्मक यथार्थवादी उपन्यास लेखेको बताए । उपन्यासले पाठकबाट सकारात्मक प्रतिक्रिया पाउने आशा आफूले गरेको उनको भनाइ छ ।
त्यसैगरी डा संग्रौलाले उपन्यास तयार पार्न पाँच वर्ष मेहनत गरेको जानकारी दिए । आफूले पथलैयाको जंगलमा गएर ढेडु बाँदर अनि पशुपति र स्वयम्भूमा गएर बाँदरको अध्ययन गरेको उनले बताए । पुस्तक लेख्नुअघि आफूले बाँदरसम्बन्धी ५०० वटा जति वृत्तचित्र पनि हेरेको उनले दाबी गरे ।
भक्तपुरमा रहेको लेक्स यान्ड जुरिस पब्लिकेसन्स प्रालिले यी दुवै उपन्यासको प्रकाशन गरेको हो ।