२३ जेठ २०८३, शनिबार

आस्था र विचारभन्दा माथि उठेर विकासमा लागौं : शिक्षामन्त्री पौडेल

आस्था र विचारभन्दा माथि उठेर विकासमा लागौं : शिक्षामन्त्री पौडेल
फाइल फोटो

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आस्था र विचारभन्दा माथि उठेर सबै राजनीतिक दल देशको विकासमा लाग्नुपर्ने बताएका छन् ।

आस्था र विचारका पछि लागेर मात्रै व्यावहारिक विकास नभएको र जनताले सुविधा नपाएको उनको भनाइ थियो ।
    
उनले नेपालको शिक्षा र स्वास्थ्यका क्षेत्रमा पूर्वाधार निर्माण तथा जनशक्तिको व्यवस्थापन लगायतका क्षेत्रमा अझै धेरै काम बाँकी रहेको भन्दै शिक्षा र स्वास्थ्य क्षेत्रको विकासले मात्रै सामाजिक क्षेत्रको विकास हुने बताए ।

समुदायको तत्परता विना विकास निर्माण सम्भव नरहेको भन्दै मन्त्री पौडेलले त्यस्ता काममा राजनीतिक आस्था र विचारको पछि लाग्न नहुने टिप्पणी गरे ।

मन्त्री पौडेलले गृह नगर बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको भैरवस्थानमा प्रथम हरेलो मेलाको उद्घाटन कार्यक्रममा कला, संकृतिको संरक्षण र पर्यटनको विकासमा सबै मिलेर लाग्नुपर्नेमा जोड दिए ।

उनले बलेवा क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताए । ‘बागलुङका मान्छेहरू मेहनती छन्, जहाँ पुगेका छन्, त्यहाँ आफ्नै पौरखले प्रगति गरेको हामीले देखेका छौं,’ पौडेलले भने, ‘अब आफ्नै गाउँमा रहेका पर्यटकीय सम्भावना बोकेका क्षेत्रको विकासका लागि पनि एक मन एकताका साथ लागौं ।’

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले धार्मिक पर्यटन र उत्पादनलाई सँगै लैजाने गरी नगरले काम गर्ने बताए । पूर्वाधार विकासका कामसँगै आर्थिक र सामाजिक विकासको क्षेत्रलाई पनि नगरपालिकाले साथै लैजाने उनको धारणा थियो । 

मेलामा भजन प्रस्तुति, पञ्चेबाजा प्रस्तुति, तीज गीत प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको थियो ।

सोमवार र मंगलवार २ दिन सञ्चालन भएको मेला सकिएको छ । स्थानीय झाँकी तथा स्थानीय उत्पादनको प्रदर्शनी मेलामा गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्