
वरिष्ठ जनगायक जेबी टुहुरेको सम्मान र सम्झनामा भाद्र १० गते शुक्रबार धरानमा जेबी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान कार्यक्रम आयोजना हुने भएको छ। तत्कालीन संविधानसभा सदस्य समेत रहेका टुहुरेको गत वर्ष भाद्र १० गते काठमाडौंको वयोधा अस्पतालमा निधन भएको थियो ।
वि.स.२००१ सालमा धरानमा जन्मिएका टुहुरेको प्रथम स्मृति दिवस धरानमै मनाउन लागिएको आयोजक जेबी टुहुरे फाउन्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले बताएकी छन् ।
कार्यक्रमको सह आयोजकको रुपमा खड्गी समाज , धरान र धरान संगित प्रतिष्ठान रहेका छन्।
धरान भानुचोकको खुला ठाउँमा आयोजना गरिने सो कार्यक्रममा टुहुरेको सम्झना र योगदानलाई नयाँ पुस्ता माझ पुर्याउने उदेश्यले ख्याति प्राप्त गायकहरुले टुहुरेकै आवाजका विभिन्न गीत गाउनेछन्। सोही दिन एकजना वरिष्ठ गायकलाई रु १ लाखको 'जेबी टुहुरे श्रष्टा सम्मान -२०७९ ' वाट विभुषित समेत गरिने जनाइएको छ।
कार्यक्रममा वरिष्ठ गायक शम्भु राई, नन्दकृष्ण जोशी, जीवन शर्मा, दीप श्रेष्ठ , शम्भु राई, भीषण मुकारुङ, चेतन सापकोटा , बाबु बोगटी, प्रश्ना शाक्य, हर्सु राई , रुपकचन्द्र डोटेल , सविन लिम्बु , आकाश थापा , साजन राई , दुर्गा परियार , सञ्जय तुम्रोक , प्रशान्त शर्मा , प्रदेश लिम्बु , जितेन्द्र चौधरी , गंगा राई , कृष्णराजा श्रेष्ठ लगायतले टुहुरेकै आवाजका चर्चित गीत प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) , प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई , आर्थिक योजना मन्त्री इन्द्र आङ्बो सहित विभिन्न दलका प्रतिनिधिको समेत उपस्थिति समेत रहने जनाइएको छ।