फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
युद्धका कठिन दिनहरूमा शत्रुको चरम यातना, जीवनदानका शर्तहरू र मसलेदार प्रलोभनलाई लत्याउँदै बलिदानको बाटोमा हिँडेका मानिसहरू अहिलेको सजिलो समयमा आफ्नो इतिहास, बलिदान, समाज रूपान्तरणमा दिएको योगदान, सिद्धान्त, विचार तथा प्रिय संगठनलाई लत्याउँदै किन विरोधी क्याम्पमा हिँड्दैछन्, यहाँनेर हामी संवेदनशील बन्न जरुरी छ ।
जानेहरूलाई सराप्न कसैलाई पर्खिन पर्दैन । हामीसँग रेडिमेट जवाफ छ, अवसरवादीहरू भागे । त्यसो भए त्यो अवसरवादको मुहान कहाँ छ ? के हाम्रो स्कूलिङमा अवसरवादको मुहान छ ? के हामीले सैद्धान्तिक रूपमै अवसरवाद अँगाल्दै आएका थियौं ? हाम्रो विचारमा आउने अवसरवादको स्रोत के हो ? संगठनमा अवसरवाद कसरी प्रवेश गर्यो ? या त सत्तायात्रा नै अवसरवादको मूल कारण हो ? हामीले यसको जवाफ खोतल्नैपर्छ । हामी यस प्रश्नको सही जवाफ पाउन अनभिज्ञ हो भने रिसर्च गरौं, थाहा छ भने समाधान गरौं ।
खासगरी राजनीतिक संगठनहरूभित्र व्यावहारिक रूपमा दुईटा मूलभूत सिद्धान्त हुन्छन्, एउटा सेयरिङको सिद्धान्त र अर्को केयरिङको सिद्धान्त ।
शेयरिङको सिद्धान्तअन्तर्गत अरूलाई डेढ सय वर्षअघिको मार्क्सवादी आदर्श, त्याग र समर्पण शेयरिङ गर्ने आफू विद्यमान अवसरहरूलाई मुठ्ठीमा राखेर आनन्द लिने कुरा सम्पूर्ण रूपले हानिकारक छ ।
शेयरिङको सिद्धान्तभित्र संगठनका सबै सदस्यहरूको आँखा, लाभ र अवसरहरूको न्यायोचित शेयरिङमा हुन्छ ।
चाहे त्यो सांगठनिक प्रमोसनका क्रममा होस् वा राज्यसत्तामा उपस्थिति र सहभागिताका सन्दर्भमा । यही कुरा संगठनको सन्तुलनका लागि निकै संवेदनशील विषय हो । जसले शेयरिङको सिद्धान्तमा सन्तुलन कायम गर्नसक्छ, त्यसले मात्रै संगठनलाई गति दिनसक्छ । माओवादीभित्रको सबैभन्दा ठूलो समस्या लाभ र अवसरहरूको शेयरिङमा गरिने बेवास्ता हो ।
दण्ड र पुरस्कारको विधिप्रति आँखा चिम्लने, जनतासँग साइनो र सरोकार राख्नुपर्छ भन्ने सोच नभएकाहरूलाई प्राथमिकता दिने जस्ता कारणले यस संगठनको ओझ र गरिमा बढाउन नसकिएको यथार्थलाई अब या त स्वीकार्दै सच्याउनुपर्छ या त संगठनको दायरा खुम्चिँदै जाने र निर्वाचनमा हुने क्षयीकरणलाई निरीहतापूर्वक हेर्दै बस्ने अवस्थमा पनि सन्तुष्टि लिनुपर्ने हुन्छ । हामीले कुन बाटो रोज्ने त्यो हाम्रो विवेकीय क्षमता हो ।
शेयरिङ संसारको सबैभन्दा सुन्दर सिद्धान्त हो । यसमा पारदर्शिता हुन्छ । खुशी र पिडा साटासाट हुन्छ । जब संगठनभित्र सामाजिक समस्याहरू, राष्ट्रिय समस्याहरू र कहिलेकाँही मानिसका व्यक्तिगत समस्याहरू सहज शेयरिङ हुन्छ । छलफलमा त्यसको समाधान खोजिन्छ त्यसले वास्तवमै आम जनतालाई समेत अपनत्व र अभिभावकत्व प्रदान गर्छ ।
के त्यसो भए माओवादी शेयरिङमा कन्जुस हो त ?
इतिहासको एउटा कालखण्डमा जीवनको बाजी थापेर काँडेतारबारसहितको कडा सुरक्षा घेरा र दरवारको हुकुम प्रमांगीमा बन्द गरिएका अधिकारहरूलाई खोसेर माओवादीले आम जनतालाई शेयरिङ गर्यो ।
आममानिसलाई जागरणको पंक्तिमा उभ्यायो । तर संगठनभित्रको पद–प्रतिष्ठामा, राज्यसत्तामा उपस्थिति र सहभागितामा अवसर र लाभहरूको शेयरिङका लागि माओवादीभित्र केही जब्बर समस्याहरू छन् नै ।
संगठनमा जीवन देख्ने उत्साहपूर्ण वातावरण, ऊर्जा थप्ने नेतृत्व शृंखला विकास र विश्वास गर्ने व्यवस्थित प्रणालीको अभावका कारण संसार हल्लाएर आएको माओवादी गठबन्धनमा अस्तित्व धान्ने अवस्थामा आइपुगेको छ । तर यसको समीक्षाका लागि हामी अझै तयार छैनौं । यदि माओवादी पार्टीलाई हामी बलिदान र योगदानको उचाइमा पुर्याउन चाहन्छौं भने हरेक सदस्यले पार्टी संगठनमा जीवन देख्ने र आमजनताले पार्टीबाट भविष्यको अपेक्षा गर्ने स्थिति सिर्जना गरिनुपर्छ ।
समाज परिवर्तनको योगदानको आँखाले हेर्दा नेपालका अरू राजनीतिक पार्टीहरू माओवादीसँग प्रतियोगिताको छेउमा उभिने ल्याकत राख्दैनन् तर विडम्बना सांगठनिक संरचनाभित्रका बेवास्ता, उदासीनता र अकर्मण्यता प्रतियोगिताको मैदानमा हामी ती पार्टीहरूभन्दा पछि पर्ने अवस्था आयो ।
जनतासँग को छ ? कार्यकर्तासँग को छ ? संगठन निर्माण कसले गर्नसक्छ ? यसको सर्वे कसले गर्ने ? जमिनी अवस्थाको वास्तविक रिपोर्ट कसले ल्याउने ? यस्तो कुनै संयन्त्र छैन । जिल्ला नेताहरूले आफू अनुकूलको रिपोर्ट गर्ने चलनले पार्टी साइज घटेर बाल्मिकीको क जस्तो भइसक्यो । रिपोर्ट गर्ने र विश्वास गर्ने शैली एवं प्रचलनमा कुनै परिवर्तन छैन ।
संगठनमा ऊर्जा र उत्साहका लागि अर्को महत्त्वपूर्ण कारक केयरिङको सिद्धान्त हो । एक निजी कम्पनीले आफ्नो कामदारलाई समस्या पर्दा अतिरिक्त दायित्व बहन गर्ने आजको युग हो ।
संसारमा एक अर्काबीच सहकार्यका लागि बनेका अनगिन्ती संघ–संगठनहरू छन्, जसले समस्या शेयरिङ गर्छन् र लाभको अंश पनि शेयर गर्छन् । त्यतिमात्रै होइन त्यस्ता संघ–संस्थाहरूले आफ्ना सदस्यहरूका लागि केयरिङको सिद्धान्तमा पनि त्यत्तिकै ध्यान दिएका हुन्छन् ।
केयरिङ भनेको हरेक समस्यामा सहानुभूतिका लागि हाजिर हुनु हो । समस्या समाधानमा सहयात्री बन्नु हो । आँसु पुछ्नु हो । घाउमा मलम लगाउनु हो । यस केयरिङको सिद्धान्तमा पार्टी नेतृत्वले कार्यकर्ता र कार्यकर्ताले जनतामा आफ्नो छवि बनाउन सक्नुपर्छ । उत्तरदायी बन्नुपर्छ र सामाजिक एवं मानवीय भावनाहरूको सम्बोधनमा पनि सहभागी बन्नुपर्छ । यस्ता कुराहरूले माओवादीलाई छुँदैन ।
जब तपाईसँग शेयरिङको संस्कार छैन र केयरिङको चलन छैन भने त्यस्तो निदर्यी र अव्यावहारिक ठाउँमा किन बस्ने ? विचार घोटेर खाने चिज होइन त्यो जीवन व्यवहारमा व्यक्त हुनुपर्ने हो । देखिँदैन, भेटिँदैन, अनि वर्षौंको स्कुलिङ, आफ्नो जीवनको अमूल्य इतिहास, वर्षौंका सहयात्रीहरू र जीवन भविष्य देखेको संगठनप्रति निष्ठुर भएर मानिसहरू विरोधीको क्याम्पमा पुग्ने देखियो ।
पार्टीको अनगोइङ लाइन संसदीय अभ्यास हो । बहुदलीय प्रतिष्पर्धा हो । सामुदायिक वन, विद्यालय व्यवस्थापन, विभिन्न संघ–संस्थालगायत सामाजिक संरचनामा हामी प्रतिस्पर्धामा छौं । निर्वाचनद्वारा नेतृत्व चयन हाम्रा सम्पूर्ण संरचनाको मूल आधार हो । तर पार्टीको आन्तरिक जीवनमा हामी निर्वाचन प्रणालीबाट पन्छिँदै आएका छौं ।
सही नेतृत्व छनोटका लागि निर्वाचन निर्विकल्प र निर्विवाद विधि होइन तर हाम्रो नेतृत्व छनोटमा देखिने पक्षपातपूर्ण व्यवहार र व्यक्तिको मूल्यांकनमा देखिने आग्रह–पूर्वाग्रहले निर्वाचनलाई आकर्षक विधिका रूपमा देखाउन थाल्छ । यसर्थ बाहिरी संरचनाहरूमा हुने प्रतिष्पर्धा र पार्टीको आन्तरिक जीवनमा हुने छनौटका विधिले पनि हामीलाई असहजता पैदा गरेको छ ।
असल व्यक्तिका क्षमता, प्रतिभा, लोकप्रियता र सामाजिक स्वीकार्यताहरू ओझेलमा पर्ने खतरा हुने र समाजले अरुचि प्रकट गर्ने व्यक्तिहरू पार्टीभित्र शक्तिशाली बन्ने । संगठनमा भूमिका र जिम्मेवारी दिँदा आधार के बनाइयो र के कारणले को प्रमोसन भयो ? को प्रमोसनका लागि योग्य देखिएन भन्ने कुराको चित्त बुझाउने उपयुक्त जवाफ भेटिँदैन ।
यस्ता कुराहरूको छिनोफानो विनापार्टी संगठनले गति लिन सक्दैन र पार्टी पोर्टफोलियोका आधारमा निर्वाचनमा टिकट वितरण गर्ने प्रणालीले जनमतको कदर गर्न सक्दैन । या त पार्टीभित्रको वरीयताका आधारमा जनतासँग सम्बन्ध बनाउने र लोकप्रियता हासिल गर्न सक्ने गरी नेताहरूलाई प्रशिक्षित गर्नुपर्छ या त लोकप्रियता र जनमतको कदर गर्ने गरी निर्वाचनमा टिकट वितरण गरिनुपर्छ, होइन भने दोधारे नीतिले नतिजा सुखद् दिलाउन सकिँदैन ।
पार्टीले पठाएको व्यक्तिलाई सहयोग गर्नैपर्ने बाध्यता एकातिर हुने जनताले नरुचाएका पात्रहरू काँधमा बोक्दा आफ्नै राजनीतिक भविष्य समेत चौपट हुने समस्यामा कार्यकर्ताहरूलाई पार्नु हुँदैन । हरेक माओवादी नेता–कार्यकर्ताले शहरी सम्भ्रान्त वर्गको स्वीकार्यता लिनैपर्छ भन्ने केही छैन तर कम्तिमा ग्रामीण जनमत र शहरको मध्यम वर्गसम्म त छवि ठीकै हुनुपर्ने होला । जनताले पत्याउने मान्छे बाहिर रहनुपर्ने र जनताले कुरा समेत सुन्न नचाहने कतिपय पात्रहरूलाई उम्मेदवारको अनिवार्य लाइनमा नउभ्याउँदा राम्रो हुन्छ ।
समग्रमा अवसरवादको मुहान तल होइन माथि हुन्छ । लाभ, अवसर, सेवा र सुविधाका लागि एउटा पंक्ति आसन जमाएर बस्ने अरू हेरेर बस्नुपर्ने परिपाटी अन्त्य हुनुपर्छ । कि त माथि बस्नेले जनता र कार्यकर्ताको मनमा आफ्ना लागि स्थान बनाउन सक्नुपर्छ ।
देश र जनताको सेवामा सम्पूर्ण रूपले समर्पित हुँदा जनताले त्यही व्यक्तिलाई तलबाट लगातार माग गरे भने कार्यकर्ताले दाबी गर्ने ल्याकत राख्दैन तर जनताबाट अलोकप्रिय छ र लाभ आफूमा मात्रै केन्द्रित गर्न खोज्छ भने त्यस्तो नेता कार्यकर्तालाई जनताले, समर्थक र शुभेच्छुकले बोक्न सक्दैन, त्यही प्रवृत्ति चरम अवसरवादको मुहान हो । त्यही प्रवृत्तिसँग भविष्य नदेखेर हजारौं गोलीले नढलेका योद्धाहरू विरक्त हुँदै विरोधी क्याम्पमा पुग्छन् । भलै त्यहाँ उनीहरूले तिर्खा लाग्दा नालीको पानीसम्म पाउँछन्, पाउँदैनन् थाहा छैन । तर उनीहरू हामीसँग बिरक्तिएको साँचो हो ।
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...