काठमाडौं, २१ पुस-सरकारले अनुमतिविना ड्रोन क्यामेरा उडाउन प्रतिबन्ध लगाएपछि त्यसको प्रभाव सिनेमा पर्यटनमा परेको छ । नेपालमा ड्रोन उडाउने अनुमति लिन झन्झटिलो भएका कारण नेपालमा हुन लागेको ८ विदेशी सिनेमाको सुटिङ रद्द भएको छ । सुरक्षा संवेदनशीलताको कारण देखाउँदै सरकारले २३ वैशाख ०७२ मा अनुमतिविना ड्रोन उडाउन प्रतिबन्ध लगाएको थियो ।
नेपालमा सुटिङ गर्ने योजना बनाएका हलिउड, बलिउड तथा चिनियाँ सिनेमा उद्योगलगायतका निर्माताहरूले योजना रद्द गरेको पर्यटन व्यवसायीले बताएका छन् । ठूलो पर्दाका सिनेमाका अतिरिक्त डकुमेन्ट्री, टेलिभिजन सिरियल, छोटो फिल्म र रियालिटी शोका लागि नेपालमा सुटिङ योजना बनाइरहेका फिल्मकर्मीले पनि ड्रोनको प्रयोग झन्झटिलो भएको भन्दै नेपालमा सुटिङ रद्द गरेको उनीहरूले बताएका छन्, आजको नयाँ पत्रिकाले खबर छापेको छ ।