२७ असार २०८३, शनिबार

हलमा लागे प्रदीपको ‘प्रकाश’ र सृष्टिको ‘राधा’

हलमा लागे प्रदीपको ‘प्रकाश’ र सृष्टिको ‘राधा’

तीजको छेको पारेर शुक्रबारदेखि दुई नयाँ नेपाली चलचित्रले प्रदर्शन आरम्भ गरेका छन् । ‘प्रसाद’ फ्रेम्ड निर्देशक दिनेश राउत निर्देशित ‘प्रकाश’र ‘सुनगाभा’ फ्रेम्ड निर्देशक सुवर्ण थापा निर्देशित चलचित्र ‘राधा’ हलमा लागेका हुन् । 

यी दुवै स्टार कलाकारहरूको अभिनयमा फरक विषयमा निर्माण भएका चलचित्रहरू हुन् । ‘कबड्डी ४’ यता कुनै नेपाली चलचित्रले दर्शक तान्न नसकिरहेको अवस्थामा यी चलचित्रहरूले हलमा दर्शक तान्ने आशा गरिएको छ । 
‘प्रकाश’मा अभिनेता प्रदीप खड्का शीर्ष भूमिकामा छन् । चकलेटी लुक्समा देखिँदै आएका प्रदीपले यसपटक सरकारी शिक्षक बन्न संघर्ष गरिरहेको जुम्लाको एक युवाको चरित्र निर्वाह गरेका छन् । कमर्सियल लभस्टोरी चलचित्रमा जमेका उनले पहिलो पटक आफूलाई चरित्र अभिनयमा ढालेका हुन् । 

विकास सुवेदीको लेखन रहेको चलचित्रमा दीया मास्के र रेणु योगी पनि मुख्य भूमिकामा छन् । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रमा प्रकाश घिमिरे, राजन खतिवडा, अमजद प्रवेज, देवकुमार श्रेष्ठ, गोविन्द सुनुवार, पवित्रा खड्का, लोकेन्द्र लेखकलगायतका कलाकारहरूको पनि अभिनय छ । 

यता, ‘राधा’मा अभिनेत्री सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छिन् भने उनका साथमा नाम चलेका कलाकारहरूको भीड छ । चलचित्रमा सृष्टिका अलावा खगेन्द्र लामिछाने, सौगात मल्ल, दिव्य देव, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, लोकेन्द्र लेखक, बुद्धि तामाङ, पशुपति राई, सुनिल पोखरेललगायतको अभिनय छ । 

चलचित्रमा देवकी बिष्टसँगै विक्रम दास जोशी र अभिनेता सौगात मल्लको समेत लगानी छ । एक विवाहित महिलाले घरमा श्रीमान नहुँदा गर्ने संघर्षको कथा चलचित्रले पेश गर्छ । चलचित्रमा नारीको श्रीमानप्रतिको आस्था, सहनशीलता देखाउन खोजिएको छ । 

शुक्रवारदेखि प्रदर्शनमा आएका दुवै चलचित्रले प्रिमियरमा राम्रो प्रतिक्रिया पाएका छन् । यता, नेपाली हलमा बिहीवार रातिदेखि भारतीय चलचित्र ‘लाइगर’ पनि प्रदर्शनमा आएको छ । विजय देवरकोन्डा र अनन्या पाण्डे अभिनित चलचित्रका कारण कारण दुवै नेपाली चलचित्रहरूले मल्टीप्लेक्स हलहरूमा सुखद् शो भने पाउन सकेका छैनन् ।
 

salt training

कमेन्ट गर्नुहोस्