
बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन शनिवार गरिँदैछ ।
१ अर्ब ११ करोड रुपैयाँको लागतमा बनेको २ हजार ७०० क्षमताको सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान १० बजे उद्घाटन गर्ने आयोजना प्रमुख धर्मेन्द्र पन्थीले लोकान्तरलाई जानकारी दिए ।
उद्घाटन कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री बालकृष्ण खाँण, शहरी विकास मन्त्री मेटमणि चौधरी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसी लगायतका नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको पन्थीले बताए ।
पूर्वपश्चिम राजमार्गसँग जोडिएको बुटवल उपमहानगरपालिका–१० रामनगरस्थित बुटवल मण्डपमा सम्मेलन केन्द्र बनेको छ ।
सम्मेलन केन्द्रका योजनाकार यस क्षेत्रका सांसद तथा एमाले उपाध्यक्ष पौडेल हुन् । साढे ९ बिगाहा क्षेत्रफलमा १ हजार १०० क्षमताको मुख्य हल र अन्य १२ वटा साना हल सम्मेलन केन्द्रमा छन् ।
‘एउटा ठूलो हल १ हजार १०० क्षमताको छ,’ पन्थीले भने, ‘अन्य ५० देखि ५५० सिट क्षमताका १२ वटा साना/ठूला हलहरू छन् । सबै गरेर सम्मेलन केन्द्रको ‘क्यापासिटी’ २ हजार ७०० क्षमताको हो ।’ सबै हल वातावरणकूलित हुन् । ठूलो हलको मात्र इन्टेरियर गरिएको छ ।
संघीय सरकारको शहरी विकास तथा भवन निर्माण विभागको १ अर्ब ११ करोड रूपैयाँ लागतमा केन्द्र बनेको हो । विक्रम संवत् २०७१ माघ १५ गते सम्झौता भएर निर्माण शुरू भएको सम्मेलन केन्द्रले महाभूकम्प र नाकाबन्दीसँगै नदीजन्य पदार्थको अभाव खेप्नुपर्यो । दोस्रो चरणमा २०७४ सालमा सम्झौता गरी २०७६ कात्तिकसम्मको समयावधि तोकेर काम भएको हो तर तोकिएको समयमा काम नगरेपछि २०७९ कात्तिकसम्म म्याद थप गरिएको थियो । थप भएको म्याद अगावै निर्माण सम्पन्न गरिएको पन्थीले बताए ।