
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीका जनप्रतिनिधिले विकासको गफ होइन काम गर्छन् भन्ने पुष्टि भएको बताएका छन । बुटवल १० स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन समारोहमा बोल्दै उनले जनताको चाहनाले क्रमशः सार्थकता पाएको र यो सम्मेलन निर्माण सम्पन्नले रुपन्देहीका जनप्रतिनिधिले विकासको गफ होइन काम गर्छन् भन्ने पुष्टि भएको बताए ।
उनले रुपन्देही ‘विकासको रोलमोडल’ बन्दै गएको बताए । पूर्वअर्थमन्त्रीसमेत रहेको पौडेलले कुनै बेला आयोजनाको छनोट, बजेट प्रबन्ध जनप्रतिनिधि केन्द्रित भए पनि अहिले योजनाको क्रमश उद्घाटन गर्ने चरणमा पुगेको बताए । ‘विकासका नयाँ–नयाँ मानक स्थापित गर्न रुपन्देही सफल भएको छ । यहाँको विकास अरुका लागि हेर्न लायक बनेको छ । यो सम्मेलन केन्द्र त्यसैको प्रमाण हो’, उनले भने ।
रुपन्देही पूर्वाधारको विकासले हेर्दा, कनेक्टिभिटिका हिसाबले समेत उत्कृष्ट भएको भन्दै रुपन्देही क्षेत्र नं २ का सांसद समेत रहेका पौडेलले सम्मेलन केन्द्र बुटवलको गहना भएकाले यसको सञ्चालन अवधारणामा विशेष ख्याल राख्न सरोकारवालालाई आग्रह गरे । उनले नियमित कार्यक्रम भए मात्र सम्मेलन केन्द्रले प्रतिफल दिन सक्ने र सबै प्रकारका कार्यक्रम यहाँ हुनु पर्ने बताए ।
उनले लुम्बिनीको विकास गुरुयोजना पूरा नहुँदा योजना कार्यान्वयन हुन नसकेको बताएका छन् । पौडेलले विमानस्थलको सेकेण्ड फेजका काम बाँकी रहेको र त्यसका निमित्त केही बजेट प्रबन्ध भएको भन्दै सरकारलाई ’गो हेड फर’ भन्न आग्रह गरे ।