![ट्राफिक प्रहरीको सडक संर्घष [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/trafice_police_NbbgPjr8kT.png)
सडकमा बसेर सिटी फुक्दै हात हल्लाउने ट्राफिक प्रहरीको जागिर बाहिरबाट हेर्दा सजिलो र रमाइलो नै लाग्छ । तर, पछिल्लो समय काठमाडौं उपत्यकामा बढेको सवारी साधनको चाप र गतिलो ट्राफिक संरचना निर्माण नहुँदा ट्राफिक व्यवस्थापन दिनानुदिन चुनौतीपूर्ण बन्दैछ ।
एकातर्फ सवारी चाप, धुलो धुवाँसँगै घाम, पानी हुरीबतास, असिना र भूकम्पजस्ता विपद्समेत नभनी निरन्तर सडकमा खटिनु ट्राफिकका लागि कम चुनौतीपूर्ण छैन । अर्कोतर्फ ट्राफिक प्रहरीको चुनौती सार्वजनिक शौचालयको अभाव, हुरी बतास र भूकम्पको धक्कासमेत टुलुटुलु हेरेर बस्नुबाहेक अर्को विकल्प हुँदैन ।
सडकमा दुर्घटना हुँदा सवारी हटाउने, बिग्रेका गाडी ठेल्ने, डिभाइटर राख्ने र झिक्ने, डोरी मिलाउने, सडकमा वर्षे भेल जमेपछि ढल खोल्ने, आन्दोलनकारीले सडकमा फ्याँकेका ढुंगा हटाउनेजस्ता धेरै काम तिनै ट्राफिक प्रहरीले गर्नुपर्ने बाध्यता छ । सडकको धुलो धुवाँका कारण कपडा चाँडै फोहोर हुन्छ । सडकमा उभिँदा दुर्घटनामा परेर कतिपय ट्राफिक घाइते समेत हुन्छन् ।
सडक नै ओगट्ने गरी ठडिएका बिजुलीका खम्बा, तलसम्म लतारिएका बिजुलीका तार, टेलिफोन र केबुलका तार । मनलागी बाटो काटिरहेका पैदलयात्री, लेन र जेब्रा क्रसिङ मेटिएका सडक चोक र ग्राबेल सडकमा उडिरेहेको धुलो, त्यही बीच चोकमा उभिएर हात हल्लाइरहेका ट्राफिक प्रहरीहरू । हेर्दा त राम्रै लाग्छ तर समस्या भने देखेको भन्दा पनि बढी छ ।
आफ्नो लेन क्रस गरेर सवारी हाँकिरहेका चालकहरूका कारण पनि कतिपय ट्राफिक व्यवस्थापनमा समस्या हुने गर्छ । ट्राफिक लाइट भएका ठाउँमा पनि ट्राफिक प्रहरी अनिवार्य हुन्छन् । कतिपय ठाउँमा ट्राफिक लाइटसँगै ट्राफिकको इसारा पनि हुन्छ । यसले दोहोरो काम भइरहेको सहजै देख्न सकिन्छ, काठमाडौंका केही चोकहरूमा ।
कतिपय ठाउँमा भने ट्राफिक लाइट त हुन्छन् तर प्रयोगमा नआएका । जसका कारण पनि कही समस्या बढिरहेको देख्न सकिन्छ । आधारभूत ट्राफिक चिन्ह नहुँदा ट्राफिक व्यवस्थापनमा नै चुनौती बन्ने गरेको छ । यो जोखिम र कष्टका विषयमा सरकारी जागिरे ट्राफिक प्रहरीको दैनिकीका तस्विर आजको फोटो फिचरमा ।










