
कारको चाबी हराउने समस्या धेरैलाई सताइरहेको हुनसक्छ । चाहिएको बेलामा कारको चाबी नभेटिदा व्यहोरिने मानसिक तनावदेखि अन्य विभिन्न प्रकारका तनाव अधिकांशले आफ्नो जीवनमा भोगिरहेका छन् । कारको चाबी चाहिएको समयमा नभेटिएकाले विभिन्न ठूला अवसरहरू गुमेको, समयमा महत्वपूर्ण काम गर्न नपाएकोजस्ता समस्याको सामना गर्नेको संख्या संसारभर धेरै रहेको अनुमान गर्ने गरिन्छ ।
पटक–पटक कारको चाबी हराएकाले भोग्नुपरेको हैरानीको समाधान एक चालकले पत्ता लगाएका छन् । उनको उक्त जुक्तिका बारेमा अहिलेसम्म कार निर्माता कम्पनीहरूले कहिल्यै सोचेका पनि थिएनन् होला । उनले आफ्नो टेस्ला कार ‘अनलक’ गर्नका लागि निकै अनौठो तरिका अपनाएका छन् ।
ब्रान्डन दलालीसँग एक टेस्ला कार छ । उनले कारको चाबी हराउने समस्याबाट मुक्तिका लागि आफ्नो दाहिने हातमा एक ‘चिप’ लगाएका छन् । उक्त चिप उनले हातको छालाभित्र प्रत्योरोपन गराएका छन् । उक्त ‘चिप’को मद्धतले उनको कार सजिलै ‘अनलक’ हुन्छ । उनले अब कारको चाबी खोजिरहनुपर्ने झण्झट भोग्नुपर्दै छ ।
उनको उक्त प्रयास केहीलाई पागलपनजस्तो लाग्नसक्छ । तर, उनको उक्त जुक्ति धेरै फरक छ । उनले आफ्नो जुक्तिको छोटो भिडियो बनाएर सामाजिक सञ्जालमा पनि राखेका छन् । जसमा उनले स्मार्ट फोनजस्तै तरिकाले कार अनलक गरेको देख्न सकिन्छ ।
के हो यो प्रविधि ?
ब्राण्डन दलालीले यो चिप्स हातमा प्रत्यारोपन गर्न व्यवसायिक चिकित्सकहरूको सहयोग लिएका छन् । चिप ‘बायो कम्पेटिबल कोटिङ’का साथ निर्माण गरिएको छ । उनले हातमा ‘भिभोकी एपेक्स’ चिप लगाएका हुन् ।
यसका लागि उनले ४ सय डलर खर्च गरेको बताएका छन् । भिभोकी एपेक्स चिप एपल पे मा आधारित छ । यो पूर्ण रूपले ‘कम्ट्याक्टलेस’ छ । कारभन्दा पहिले उनले आफ्नो बायाँ हातमा पनि एक चिप प्रत्यारोपन गराएका थिए । जसले उनी आफ्नो घरको ढोका खोल्ने काम गर्दथे ।
उनले आफ्नो दुवै हातमा चिप लगाएको एउटा कार र अर्कोले घरको ढोका खोल्ने बताए ।