३१ जेठ २०८३, आइतबार

पहिरोले बागलुङ–बेनी सडक अवरुद्ध

पहिरोले बागलुङ–बेनी सडक अवरुद्ध
प्रतिकात्मक तस्वीर

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक अवरुद्ध बनेको छ ।

बेनी नगरपालिका–२ हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक पहिरो खसेर पुरिएको हो । थप पहिरो खस्ने जोखिम भएकाले खसेको पहिरो पन्छाउन नसक्दा आवतजावत बन्द भएको छ । 

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बागलुङ–बेनी सडक बन्द भएपछि निर्माणाधीन बेनी–मालढुंगा सडकमा नियमित यातायात सञ्चालनको व्यवस्था मिलाइएको जानकारी दिए । बेनी–मालढुङ्गा सडक निर्माणलाई तीव्रता दिन म्याग्दी र मुस्ताङ जाने आउने सवारीलाई बागलुङ भएर सञ्चालन गरिएको थियो । 

हाँडेभिरमा गत साउन १६ गतेदेखि पहिरो खस्न थालेको थियो । बुधवार पहिरो खसेर सडकमा हिँडिरहेका २ महिलालाई चोट लागेर घाइते भएका थिए । पहिरोले गुडिरहेका सवारीसाधन, इन्टरनेट र बिजुलीको तारलाई पनि क्षति पुर्‍याएको छ । 

यसअघि खसेको पहिरो तत्कालै डोजर परिचालन गरेर हटाउने गरिए पनि शुक्रवार ठूलो ढिस्को खसेर सडकमा थुप्रिएको छ । हाँडेभीरमा गत हिउँदमा डोजर परिचालन गरेर सडक विस्तार गरिएको थियो । पूर्वाधार विकास कार्यालयले ठेक्कामार्फत खबरा र हाँडेभीर क्षेत्रमा करीब १ किलोमिटर सडक कालोपत्र र ढलान भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्