२३ जेठ २०८३, शनिबार

योगमाया आयुर्वेद विश्वविद्यालयका लागि जग्गा खरिद शुरू

योगमाया आयुर्वेद विश्वविद्यालयका लागि जग्गा खरिद शुरू
प्रतिकात्मक तस्वीर

‘योगमाया आयुर्वेद विश्वविद्यालय’ निर्माणका लागि २०० रोपनीभन्दा बढी जग्गा प्राप्त भएको छ ।

संखुवासभाको खाँदबारी नगरपालिका–९ ढुंगाविसौना र षडानन्द नगरपालिका–६ बट्टार क्षेत्रबाट २०० रोपनी ९ आना ३ पैसा २ दाम जग्गा विश्वविद्यालयको नाममा स्थानीयले पास गरिदिएका छन् ।

जग्गा खरिद प्रक्रियाका लागि संघीय सरकारबाट ७ करोड  रकम प्राप्त भएको षडानन्द नगरपालिकाका प्रमुख सरेन्द्रकुमार उदासले जानकारी दिए । उनले भने, ‘योगमाया आयुर्वेद विश्वविद्यालय निर्माणका लागि जग्गा खरिद प्रक्रिया शुरू भएको छ । हालसम्म २ रोपनी बढी जग्गा विश्वविद्यालयको नाममा पास भएको छ । अन्य आवश्यक जग्गा पनि खोजी भइरहेको छ ।’

विश्वविद्यालयले निर्माणका लागि षडानन्दमा २३३ रोपनी र खाँदबारी नगरपालिकामा ३७२ रोपनी जग्गा लिने मन्त्रिपरिषद्को निर्णय भएबमोजिम खोजी प्रक्रिया थालनी गरिएको उनले जानकारी दिए ।

जग्गा खरिद गर्नका लागि ७ करोड रकम संखुवासभा जिल्ला प्रशासन कार्यालयमा आएको नगर प्रमुख उदासले जानकारी दिए । षडानन्दको तर्फबाट योगमायाको समाधिस्थल मझुवाबेंसीमा समेत आवश्यक जग्गा खरिद गरेर संरचना निर्माण गर्नुपर्ने माग रहेको उनले बताए ।

संखुवासभामा पनि विश्वविद्यालयको नाममा जग्गा खरिद भइरहेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । पहिला भएको सम्झौताअनुसार संखुवासभामा प्रतिरोपनी १ लाख रुपैयाँका दरले जग्गा खरिद गरिएको उनको भनाइ छ । भोजपुरका जग्गाधनीले भने प्रतिरोपनी ५० हजार रुपैयाँ पाउने गरी पहिला नै सम्झौता भएको उनको भनाइ छ ।

भोजपुर तर्फको २३३ रोपनी र संखुवासभाको ३७२ गरी ६०५ रोपनी खरिद गर्ने र अपुगमा सरकारी जमिनलाई पनि प्रयोगमा ल्याउने प्रमुख जिल्ला अधिकारी खतिवडाको भनाइ छ । दुवै जिल्लाको जग्गा खरिद प्रक्रिया सपन्न भएपश्चात विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर निर्माण प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए । डीपीआर बनेपछि कुन जिल्लामा कति र कस्ता संरचना बन्ने भन्ने टुंगो लाग्ने उनको भनाइ छ ।

‘२ जिल्लाको समन्वयमा जग्गा खरिद प्रक्रिया भइरहेको छ । २ जिल्लामा जग्गा खरिद गर्नुपर्ने भएकाले कुन क्षेत्रमा कति संरचना बन्छन् भन्ने यकिन भएको छैन । विश्वविद्यालयको पूर्ण विस्तृत परियोजना प्रतिवेदन बनेपछि निर्माणको प्रक्रिया शुरू हुन्छ । त्यसपछि कस्ता संरचना कतिवटा कहाँ बन्छन् भन्ने कुराको टुंगो लाग्छ,’ प्रजिअ खतिवडाले भने ।

सतिप्रथाको अन्त्यका लागि लड्ने क्रान्ति योद्दा योगमायाको जन्म विक्रम संवत् १९१७ सालमा भोजपुरको षडानन्द–१ नेपालेडाँडामा भएको हो । देशमा जकडिएको सतिप्रथा अन्त्यका लागि पटक–पटक तत्कालीन राणा सरकारसँग माग गर्दा पनि कुनै निर्णय नभएपछि योगमायासहित ६८ जनाले समाधि लिएका थिए । सतिप्रथा, छुवाछूत प्रथा अन्त्यका लागि आफ्नो अभियानको नारा लगाउँदै विक्रम संवत् १९९८ असार २२ गते अरुण नदीमा योगमायासहित ६८ जनाले मृत्युवरण गरेका थिए । उनीहरूले समाधि दिएको ठाउँ षडानन्द–६ को मझुवाबेंसीमा पर्दछ । 

समाज सुधारका लागि कुरीति, अन्धविश्वासको विरोधको त्यो समयमा अभियान चलाउने साहसी महिलाका रूपमा योगमायालाई चिनिन्छ । काठमाडौं पुगेर श्री ३ जुद्धशम्शेरसँग भेट गरी धर्म भिक्षा मागेका थिए । जुद्धशम्शेरबाट धर्म भिक्षाको वचन पाए पनि वचनअनुसार राणाहरूले कुनै काम नगरेपछि उनमा थप क्रान्तिको विजारोपण भएको पाइन्छ ।

राणाकालीन समयमा राणा शासनले अन्याय विरोधमा समाज परिर्वतनका लागि जीवन नै बलिदानी दिने साहसी महिला भए पनि राज्यले भने उचित सम्मान दिन सकेको छैन । शोषण, दमनको जीवन बिताइरहेका महिलाको आवाज खरोरूपमा उठाउने योगमाया न्यौपानेको योगदान आवश्यक प्रचारको अभावले पनि ओझेलमा परेको देन्खिन्छ । योगमायाको  योगदानलाई बेवास्ता गरिएको  महिला अधिकारकर्मी तथा समाजका अगुवाहरूले बताउने गरेका छन् । 

सतिप्रथा, दासप्रथा, जातपातको अन्त्य, न्याय, महिला मर्यादा, विधवा अधिकार र मानापाथी एकरुपतालगायतका राजनीतिक तथा सामाजिक परिर्वतन लागि उनले माग गरेका बताइएको छ । सामाजिक अन्धविश्वासका विरुद्धमा उनले चालेको कदम समाजका परिवर्तनको मेरुडण्डको रूपमा देखिएको छ । 

योगमायाको बिहे ७ वर्षको उमेरमा भोजपुरको धोद्लेखानी अर्थात् हालको रामप्रसादराई गाउँपालिका–२ मा भएको थियो । इतिहासकारका अनुसार सानै उमेरमा बिहे भएको कारण घरमा खानलाउन नदिएपछि उनी ३ दिन लगाएर आफ्नो माइतीघर नेपालेडाँडा पुगेकी थिइन् । घर छाडी हिँडेकी र ३ दिन बाटो हराएकी भनी योगमायालाई घरकाले स्वीकार गरेनन् । माइतीले पनि हेलाँ गरेको पाइन्छ । त्यसपछि योगमायाको जीवनमा वैराग्य बढेकाले नेपाल फर्केर मझुवाबेंसीमा कठिन तपस्या गरिन् ।

योगमायाले श्रीमतीको मृत्युपछि श्रीमानले बिहे गर्न हुने तर श्रीमान्को मृत्युमा श्रीमतीले जिउँदै चितामा जल्नुपर्ने जनाउँदै यसको जवाफ तत्कालीन राणा सरकारसँग मागेकी थिइन् । त्यस्तै उनले श्रीमान्को मृत्यु भएको खण्डमा श्रीमती पनि अर्को विवाह गर्न पाउनुपर्ने भनी आवाज उठाएका बताइएको छ ।
 
यसको परिणामस्वरूप अहिले समाजमा धेरै नै परिवर्तन आएको देखिन्छ । पछिल्लो समय राज्यले दिएको आरक्षको व्यवस्थालाई यसैको उपजका रूपमा मान्न सकिने महिला अधिकारकर्मीको भनाइ छ । योगमायाले उठाएको समानताको क्रान्तिको अभियानले समाज रूपान्तरणका लागि निकै ठूलो योगदान पुगेको छ ।

योगमायालाई राष्ट्रिय विभूतिका रूपमा राज्यले घोषणा गर्नुपर्ने स्थानीयस्तरबाट आवाज पनि उठिरहेको छ । राज्यको तर्फबाट योगमायाको योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गर्न स्थानीयको माग छ । उनको योगदानको राज्यले उचित मूल्यांकन गर्न नसकेको स्थानीय जानकारहरूले बताउने गरेका छन् । अहिले राज्यले गरिरहेका काम मात्र योगमायाको योगदानका लागि पर्याप्त नभएको उनीहरूको भनाइ छ ।

षडानन्द नगरपालिकाका स्थानीय प्रकाश पौडेलले भने, ‘राज्यले योगमायाको योगदानको उचित ढंगले मूल्यांकन गर्न सकेको छैन । हामीले राष्ट्रिय विभूति घोषणा गर्न धेरैपटक आवाज उठाएको भए पनि राज्यले त्यसलाई सुनेन । उहाँलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने हाम्रो जोडदार माग छ । राज्यले यो जे गरिरहेको छ, यो मात्र पर्याप्त होइन ।’ – युवराज विष्ट/रासस

salt training

कमेन्ट गर्नुहोस्