
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौं महानगरपालिकाले पछिल्लो समय सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियान सकारात्मक रहेको बताएकी छन् । आइतवार सामाजिक सञ्जालमा एक अपिल सार्वजनिक गर्दै उनले अभियानमा साथ दिन सबैलाई आग्रह पनि गरेकी छन् ।
‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना, (निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुँइतला वा बेसमेन्टलाई पार्किङको प्रयोजन देखाई पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना) हटाउने कार्यलाई केही दिनदेखि काठमाडौं महानगरपालिकाले निरन्तरता दिँदै आएको विदितै छ,’ उनले अपिलमा भनेकी छन्, ‘त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरपालिकाको हो । म काठमाडौं महानगरपालिकाको उपमेयरको हैसियतमा छु । त्यसैले कानून कार्यान्वयन गर्ने सबै कुरामा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु ।’
उनले काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने आफ्नो एजेण्डाप्रति सजग र सचेत रहेको पनि स्मरण गराएकी छन् ।
‘तर, केही दिनदेखि मुख्य गरेर केही अनललाइनहरूले महानगरपालिकाको पछिल्लो अभियानसँग मलाई जोडी आम महानगरवासीमा समेत भ्रम सिर्जना गर्ने गरी गरेका समाचार सम्प्रेषणप्रति मेरो ध्यानाकर्षण भएको छ । पत्रकारिता क्षेत्रलाई राष्ट्रको चौथो अंगका रुपमा लिइने गरिएको छ । पत्रकारिता क्षेत्रमै निरन्तर लागिरहनु भएका पत्रकार मित्रहरूलाई पत्रकारिताका तीन सिद्धान्त सत्यता, सन्तुलन र विश्वसनीयताका बारेमा मैले यहाँ व्याख्या गरिरहनु पर्ने आवश्यकता ठानेको छैन,’ उनले भनेकी छन्, ‘यद्यपि, पत्रकारिताको धर्म र मर्मलाई समेत सामान्य हेक्का नराखी वा मसँग जोडिएका समाचारमा मेरो कुनै प्रतिक्रिया नै समावेश नगरी एकपक्षीय र अनुमानका भरमा समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यले पत्रकारिताप्रतिको विश्वसनीयता नै कमजोर हुनेप्रति ख्याल राखिदिनुहुन अनुरोध गर्दछु ।’