
डान्सिङ रियालिटी शो सुपर डान्सर नेपालको जज गर्न भारतीय अभिनेता गोविन्दा काठमाडौं आइपुगेका छन् । उनी शो को जज गर्नका लागि काठमाडौं आएका हुन् । आयोजकले आइतवार शोका बारेमा जानकारी दिन गोविन्दासमेतको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरेको थियो ।
पत्रकार सम्मेलनमा गोविन्दाले कला र संस्कृतिबिना देशको पहिचान हुन नसक्ने बताएका छन् । उनले दर्शकहरुले कलाकारलाई सधैँ साथ दिनुपर्ने बताए ।
पत्रकार सम्मेलनमा उनले नेपालसँग आफ्नो प्रेम धर्मपत्नीको माध्यमबाट जुरेको बताएका थिए । उनले हरेक मानिसले आफूले गरेको कामलाई यादगार बनाउने हिसाबबाट अघि बढाउन आवश्यक रहेको पनि बताए ।
कला संसारको अभिन्न अंग भएको बताउँदै अभिनेता गोविन्दाले कला र संस्कृतिसँग जोडिएको व्यापारले देश समृद्ध बन्ने बताए । उनले कलाकारहरूले व्यापार, व्यवसायसँगै जोडिएर कमाइ गर्ने भएकोले कलाकारहरू धनदाता, मातापिता उद्योगी, व्यापारीसमेत भएको बताए ।
भुषण दाहालले निर्देशन गर्ने सुपर डान्सर नेपाल शोको निर्णायकका रुपमा भाग लिन गोविन्दा नेपाल आएका हुन् । चार देखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिष्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा गोविन्दासहित कलाकारहरू भुवन केसी, जसिता गुरुङ र सुरेन्द्र राई रहने छन् ।