
भारतको नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजमा सञ्चालित नेशनल डिफेन्स कोर्स ६२ का शिक्षार्थीसहितको टोली नेपाल भ्रमणमा आएका छन् । भारती सेनाको ३१ सदस्यीय टोली आइतवार नेपाल भ्रमणमा आएको हो । एयर भाइस मार्सल तेजवीर सिंहको नेतृत्वमा आएको उक्त टोली भदौ १६ गतेसम्म नेपाल भ्रमणमा रहने नेपाली सेनाले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
उक्त टोलीले सोमवार प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री नारायण खड्कालगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । भारतीय टोलीले सोमवार नै नेपाली सेनाको मुख्यालय जंगी अड्डाको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
भारतीय टोलीले मंगलवार पोखरास्थित मध्यकमाण्ड हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम रहेको छ । उक्त टोलीले पशुपतिनाथ मन्दिर, काठमाडौं दरबार स्क्वायर, लुम्बिनीलगायत काठमाडौं र पोखराका विभिन्न पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ ।
विगतमा पनि विभिन्न मित्रराष्ट्रहरूमा सञ्चालित उच्चस्तरका सैनिक तालिममा सहभागी शिक्षार्थीहरूले नेपालको भ्रमण गर्ने प्रचलन रहिआएको छ । छिमेकी मित्रराष्ट्रहरूबाट हुने यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रबर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।