
लिबियामा शासन चलाइरहेका दुई फरक समूहबीच तनाव चर्किंदा कम्तीमा ३२ जना मारिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस झडपले देशमा पुनः गृहयुद्ध भड्काउने आशंका गरिएको छ ।
अब्दुलहमिद दबेबा र फाती बाशागाका समर्थकहरूबीच झडप भइरहेको छ । उनीहरू सम्पूर्ण देशमा कब्जा गर्नका लागि हानथाप गरिरहेका छन् ।
सन् २०२० मा युद्धविराम गरिएको भए पनि अहिले लडाइँ शुरू भएको हो ।
दबेबालाई राष्ट्रसंघको नेतृत्वमा भएको शान्ति प्रक्रियापछि राजधानी त्रिपोलीमा राखिएको थियो । उनले बाशागालाई त्यहाँ प्रभाव जमाउन दिएका छैनन् । अर्को प्रशासन निर्वाचनपछि मात्र आउनुपर्ने उनको भनाइ छ ।
बाशागालाई लिबियाको पूर्वी क्षेत्रमा रहेको संसद्ले यसै वर्ष नियुक्त गरेको हो । उनलाई शक्तिशाली सैन्य प्रमुख खलिफा हफ्तारले समर्थन गरेका छन् । हफ्तारले सन् २०१९ मा बलपूर्वक राजधानी कब्जा गर्न खोजेपछि गृहयुद्ध चर्किएको छ ।
सन् २०११ मा पश्चिमले मुअम्मार गद्दाफीलाई कू गराएर हटाएपछि लिबियामा विभिन्न सशस्त्र समूह र विदेशी शक्तिहरूले शक्ति शून्यतालाई भर्ने कोशिश गरिरहेका छन् ।