
तनहुँ क्षेत्र नम्बर १(२)मा उम्मेदवार हुन नेपाली कांग्रेसका जिल्ला सदस्य डम्बर अधिकारीले पार्टीमा उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १(२) कार्यसमितिले आह्वान गरेअनुरूप उम्मेदवारी दर्ता गर्ने क्रममा अधिकारी पहिलो हुन पुगेका छन् ।
अधिकारी २०४६ सालको जनआन्दोलनमा १० वर्षको उमेरमा सहभागी भएका थिए । विद्यार्थीकालदेखि कांग्रेसको राजनीतिमा होमिएका अधिकारीले विद्यार्थीकालमा निर्मल माध्यमिक विद्यालयमा नेविसंघको इकाई अध्यक्ष, पृथ्वी नारायण क्याम्पस इकाई सदस्य, नेपाली कांग्रेस व्यास नगर समितिको सहसचिव, नेपाल प्रेस युनियन तनहुँ र नेपाल पत्रकार महासंघ तनहुँको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । उनी स्कूल अफडेमोक्रेसी तनहुँ शाखाको अध्यक्ष र विभिन्न सामाजिक संघसंस्थामा रहेर काम गर्दै आइरहेका छन् ।
अधिकारीले दाबेदारी गरेको प्रदेशमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता एवं गण्डकी प्रदेशका पूर्वमन्त्री हरिबहादुर चुमनको दाबेदारी रहने चर्चा छ । यद्यपि चुमनले केही दिनअघि आफ्नो दाबेदारी संघतर्फ रहेको बताएका थिए ।
प्रदेश सभामा दाबेदारी प्रस्तुत गरेका अधिकारीले गठबन्धन हुन्छ भनेर मैदान खाली गर्नुपर्छ भन्ने मान्यतामा आफू नरहेको बताएका छन् । आफूले उम्मेदवारी दर्ता गराएको प्रदेश कांग्रेसको भागमा पर्नेमा समेत आफू विश्वस्त रहेको अधिकारी बताउँछन् ।