
नेकपा (एमाले) ले सत्तारुढनिकट भ्रातृ संस्था र व्यक्तिबाट त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी र तोडफोड, तथा पदाधिकारीमाथि आक्रमणको प्रयास गरिएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिसभाको सोमवारको बैठकको शुरुमा एमालेका सांसदहरूले हात उठाएपछि सभामुख अग्निप्रसाद सापकोटासँग समय लिएर नेता प्रदीप ज्ञवालीले पवित्र एवं प्राज्ञिक शैक्षिक संस्थामाथिको यस प्रकारको क्रियाकलाप निन्दनीय भएकाले दोषीमाथि कारबाही गर्न माग गरे ।
उनले विश्वविद्यालयका प्राध्यापकलाई कुटपिट गर्नेमाथि प्रहरीले संरक्षण गर्ने, महान्यायाधिवक्ताको कार्यालयले मुद्दा फिर्ता लिनेजस्ता कार्यले स्वदेशभित्रको उच्च शिक्षा खस्कँदो र अध्ययनका नाममा पुँजी पलायन हुन थालेकाेमा चिन्ता व्यक्त गरे ।
पूर्वमन्त्री ज्ञवालीले तीन वर्षमा तीन सय दिन तालाबन्दी भएपछि विश्वविद्यालयको हालत के होला भन्ने प्रश्न गर्दै विद्यार्थीलाई सुरक्षा र प्राज्ञिक स्वतन्त्रताको रक्षा गर्नुपर्नेमा यस्ता व्यवहारले शैक्षिक उन्नयन कसरी हुन्छ भन्ने चिन्ता व्यक्त गरे ।
सांसद ज्ञवालीले विश्वविद्यालयमाथिका यस्ता घटनाबारे सम्बन्धित मन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नसक्ने जनाएर एमालेका सबै सांसद आ-आफनो स्थानबाट उठेपछि सभामुख सापकोटाले उक्त समस्या शीघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देशन दिएका थिए । त्यसपछि बैठक नियमित कार्यसूचीमा प्रवेश गरेको थियो ।