१० असार २०८३, बुधबार

डेंगु नियन्त्रणका लागि मकवानपुरमा घरदैलो अभियान

डेंगु नियन्त्रणका लागि मकवानपुरमा घरदैलो अभियान
प्रतिकात्मक तस्वीर

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले डेंगु नियन्त्रणका लागि घरदैलो अभियान सञ्चालन गरिने भएको छ ।

उपमहानगरपालिकाका विभिन्न वडामा डेंगु संक्रमण बढ्दै गएपछि घरदैलो अभियान थाल्ने तयारी छ ।  

हेटौंडा–४, ५, १० र ११ मा केही हप्तादेखि फैलिएको डेंगु संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । ती ४ वटै वडामा बिहीवार अपराह्नसम्म ५३५ जनामा डेंगु फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैगरी मनहरि गाउँपालिका–२, ४, ५ र ६ मा ९५ डेंगुका बिरामी फेला परेको कार्यालयले जनाएको छ । 

मकवानपुरमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिका क्षेत्रमा करीब ३ हप्तादेखि फैलिएको प्रकोपलाई नियन्त्रण गर्न विभिन्न विधि अपनाएको भए पनि अझै नियन्त्रणमा आउन नसकिएकाले भदौ १९ देखि हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडा र मनहरिका विभिन्न वडामा जिल्ला स्वास्थ्य कार्यालयले घरदैलो अभियान सञ्चालन गर्न लागेको वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक तिवारीले बताए ।

हेटौंडा र मनहरिका विभिन्न वडामा डेंगुबाट प्रभावितलाई तत्काल उपचार गर्न जिल्ला स्वास्थ्य कार्यालय र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा काठमाडौंको वीर अस्पताल, पाटन अस्पताल र त्रिभुवन शिक्षण अस्पताल उपचारका लागि पठाइएको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत भोलिप्रसाद चौलागाईंले जानकारी दिए ।

डेंगुबाट सामान्य प्रभावितलाई हेटौंडा अस्पताल, चुरेहिल अस्पताल र चितवनको भरतपुर अस्पताल भर्ना गरी उपचार थालिएको छ । डेंगुको पहिचान गर्न किट पर्याप्त मात्रा नहुँदा उपलब्ध गराइदिन हेटौंडा उपमहानगरपालिकाले संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमक्ष माग गरेको चौलागाईंले बताए ।

salt training

कमेन्ट गर्नुहोस्