
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुंगोमा पुग्न लागेको बताएका छन् ।
माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा सुर्खेत वीरेन्द्रनगरस्थित सिटीहलमा शुक्रवार आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका लागि सुर्खेत आइपुगेका अध्यक्ष दाहालले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँगको भेटघाटमा गठबन्धनमा क्षेत्र र प्रदेश तोकेरै सिट बाँडफाँटको सहमति नजिक पुगिएको बताए ।
गठबन्धन दलभित्र कुनै असहमति नभएको उल्लेख गर्दै उनले भने, ‘यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा सन्तुलित तालमेल गरिन्छ तर नेकपा एमालेसँग तालमेलको कुनै सम्भावना छैन । सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा होमिन्छौं ।’
कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने गरी तयारी भइरहेको उनले बताए ।
पत्रकार भेटघाटका क्रममा अध्यक्ष दाहालले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा चितवन–३ बाटै चुनाव लड्ने बताए ।