१३ असार २०८३, शनिबार

गोर्खाल्यान्ड आन्दोलनलाई वैद्य माओवादीसँग जोड्ने व्यक्ति को हुन् ?

कात्तिक २०, २०७४
गोर्खाल्यान्ड आन्दोलनलाई वैद्य माओवादीसँग जोड्ने व्यक्ति को हुन् ?

काठमाडौं, १६ साउन — सीबीआईले ‘भगौडा’ भनेपनि एक जासूसी प्रतिवेदनले निकोल तामाङलाई गोर्खा जनमुक्ति मोर्चा र नेपालमा रहेको माओवादी गुटबीचको सम्पर्क व्यक्तिका रूपमा हेरेको छ । सन् २०१० मा भएको मदन तामाङको हत्याको मुद्दामा आरोपित निकोल सीआईडीको हिरासतबाट भागेका थिए ।


जासूसी प्रतिवेदनअनुसार तामाङले माओवादी नेता मोहन वैद्यले नेतृत्व गरेको गुटसँग सम्पर्क गरेका छन् । उक्त गुटले गोर्खा लिबरेसन आर्मी (जीएलए) र गोर्खाल्यान्ड पर्सनेल (जीएलपी) लाई तालिम दिइरहेको अनि हतियार आपूर्तिको प्रतिबद्धता जाहेर गरेको छ ।

गोर्खाल्यान्ड आन्दोलनको नेतृत्व गरिरहेको गोर्खा जनमुक्ति मोर्चा (गोजमो) ले यस्ता आरोपलाई ‘खराब नियतसहितको प्रचारबाजी’ भन्दै लगातार खण्डन गरिरहेको छ । मोर्चाले प्रहरीलाई आरोप पुष्टि गर्ने प्रमाण देखाउन चुनौती समेत दिएको छ ।

जासूसी प्रतिवेदनले जीएलपीका दुई समूहलाई माओवादी गुटले महाभारतको तल्लो भेगमा स्थित धरान बजारनजिकैको घना जंगलमा हतियार तालिम दिइरहेको समेत उल्लेख गरेको छ ।

‘गोजमो नेतृत्वको आन्दोलनले नेकपा (क्रान्तिकारी माओवादी) बाट बलियो साथ पाइरहेको प्रशस्त प्रमाण भेटिएका छन् । अनि देशलाई अस्थिर बनाउन अन्य विदेशी तत्त्वको पनि प्रभाव छ । हामीहरू यस विषयमा सूचना संकलन गरिरहेका छौं,’ एक अधिकारीले बताए ।

प्रतिवेदनअनुसार गोजमोले आर्थिक अभाव र हतियारको कमी बेहोरिरहेको थियो । स्रोतहरूका अनुसार अहिले उनीहरूलाई करीब दुई लाख गोली आवश्यक छ । विशेषगरी स्नाइपर, इन्सास र एके–४७ का गोलीहरू उनीहरूलाई चाहिएको र उत्तरपूर्वमा सक्रिय विद्रोही समूहहरूबाट उनीहरूले किनेको संकेत पाइएको छ । तर भौगोलिक अप्ठ्याराका कारण उनीहरूले हतियार पाएका छैनन् ।

यही समयमा गोजमोको शीर्ष नेतृत्वसँग नजिक मानिएका निकोलले उनीहरूलाई सहयोग गर्दै दुई समूहबीच पुलको काम गरेको प्रतिवेदनले दाबी गरेको छ ।

निकोल सन् २०१० मा पिन्टेल गाउँबाट सीआईडीको हिरासतबाट भागेका थिए । सीबीआईका अनुसार उनी नेपालमा लुकेर बसेका छन् ।

ट टाइम्स अफ इन्डियामा प्रकाशित सैबाल गुप्ताको रिपोर्टबाट

salt training

कमेन्ट गर्नुहोस्