०९ साउन २०८३, शनिबार

माओवादी नेताले संसदमै राजासँग पनि मिल्ने दिन आउन सक्छ भनेपछि...

माओवादी नेताले संसदमै राजासँग पनि मिल्ने दिन आउन सक्छ भनेपछि...

नेकपा (माओवादी केन्द्र)का सांसद सुरेश आले मगरले राजा या राजतन्त्रसँग पनि मिल्ने दिन आउन सक्छ भनेर संसदमा दिएको अभिव्यक्ति हटाउन एमालेले माग गरेको छ ।

नागरिकता विधेयकमाथि शुक्रवार राष्ट्रिय सभामा भएको छलफलमा सांसद आलेले कांग्रेससँग मात्र नभई राजासँग पनि तालमेलको अवस्था आउन सक्ने बताएका थिए । 

‘एमालेकै नेताहरूले नेपालमा दुईवटा मात्र पार्टी बनाउने लबिङ गर्नुभएको छ तर त्यो सम्भव छैन । हामीले कांग्रेससँग चुनावी गठबन्धन गरेका छौं तर आइडोलोजी फरक छ,’ आलेले भनेका थिए, ‘कांग्रेससँग मात्र होइन नेपालमाथि विदेशी आक्रमण हुने अवस्थामा राजासँग पनि एकता गर्नुपर्छ । जसरी चीनमाथि जापानले आक्रमण गर्दा माओले च्याङकाइसेकसँग सहकार्यको प्रस्ताव गरेका थिए ।’

आलेको भनाइलाई लिएर राष्ट्रियसभामा एमाले संसदीय दलका नेता खिमलाल भट्टराईले उक्त अभिव्यक्ति राष्ट्रियसभाको रेकर्डबाट हटाउन माग गरे । 

‘भर्खरै माननीयले बोल्ने क्रममा राजा र राजतन्त्रसँगै मिलेर जाऊँ भन्ने कुरा गर्नुभयो । आज नेपालमा राजतन्त्र छैन, राजा पनि छैन । उहाँले जे व्याख्या गर्नुभएको छ, अहिले त्यो परिस्थिति पनि होइन,’ भट्टराईले भने, ‘यो रेकर्डबाट हटाइयोस् भन्ने माग गर्छु । उहाँको टंग स्लिप भएको हुनसक्छ । यो धेरै गम्भीर विषय हो ।’

सभाको अध्यक्षता गरेकी अनिता देवकोटाले भट्टराईको मागबमोजिम आलेको भनाई रेकर्डबाट हटाउनु नपर्ने बताइन् । ‘लोकतान्त्रिक गणतन्त्रमा अभिव्यक्ति राख्न पाइन्छ । उहाँको भनाइमा गलत आशय छैन । माननीयहरू बोल्दा संयमित भएर बोलौं,’ अध्यक्षको आसनबाट देवकोटाले भनिन् ।

राष्ट्रपतिबाट पुनर्विचारका लागि पठाइएको नागरिकता विधेयकमाथि राष्ट्रियसभामा छलफल चलिरहेको छ । शुक्रवार नै विधेयक पारित गर्ने कार्यसूची छ । 

salt training

कमेन्ट गर्नुहोस्