२५ जेठ २०८३, सोमबार
संघर्ष र सफलता

भूइँबाट उठेर नेपाल सरकारकाे सचिवसम्म बनेका पूर्व प्रशासकः अवकाशपछि के गर्दैछन् डा.बीके ?

भदौ १८, २०७९
भूइँबाट उठेर नेपाल सरकारकाे सचिवसम्म बनेका पूर्व प्रशासकः अवकाशपछि के गर्दैछन् डा.बीके ?

नेपाल सरकारको सचिव पदमा पुगेर डा. मानबहादुर बीके १ वर्षअघि सेवानिवृत्त भए । नेपालको इतिहासमा दलित समुदायबाट नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी (सचिव) मा पुग्ने पहिलो व्यक्ति पनि हुन् डा. बीके । त्यो पदमा पुग्न उनले जीवनका उकाली/ओराली, परिश्रम अनि धेरै पसिना बगाए । 

दलित, त्यसमाथि विपन्न परिवारमा हुर्किएर उनी विक्रम संवत् २०४३ सालमा सहलेखापाल अर्थात् खरिदार पदबाट निजामती सेवामा प्रवेश गरी खुला प्रतिस्पर्धाबाट २०४७ सालमा शाखा अधिकृत हुँदै महानिर्देशक, केही जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ), लुम्बिनी र कर्णाली प्रदेशमा प्रदेश सचिव र बागमती प्रदेशको प्रमुख सचिव भएर २०७८ वैशाखमा ३५ वर्षे सेवा अवधि पूरा गरी अवकाश भएका हुन् ।

उनको जीवनले धेरैलाई बाटो देखाउन सक्छ । विशिष्ट क्षमता भएका डा. बीके वित्तीय सुशासन र समावेशी आर्थिक विकासका क्षेत्रमा निकै दक्खल राख्छन् ।

पाल्पाको तत्कालीन देउराली गाविस (हाल रिब्दीकोट गाउँपालिका) मा जन्मिएका उनी सेवानिवृत्तपछि पनि अध्ययन/अध्यापन र अनुसन्धानमा नै सक्रिय रूपमा लागेका छन् । काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र अकामाई युनिर्भसिटी अमेरिकामा ‘भिजिटिङ’ प्राध्यापकका रूपमा उनी प्राध्यापन गर्छन् । 

त्यसका अलावा उनी लघुवित्त क्षेत्रमा आफूले जानेको कुरा समुदायसम्म पुर्‍याउने काममा व्यस्त छन् । वित्तीय पहुँचको एउटा नयाँ ढाँचा सामुदायिक बैंकिङ प्रणालीलाई समुदायस्तरसम्म पुर्‍याउन उनी लागिपरेका छन् । उनी भन्छन्, ‘यो प्रणाली सबैतिर भयो भने अहिले जसरी बैंकहरूको भीड हुँदाहुँदै पनि मिटरव्याजीको शरणमा हजारौं जनताहरू पुग्न बाध्य छन्, त्यसबाट मुक्त गर्न सकिने छ ।’ यस ढाँचालाई अभ्यास गर्न उनी संस्थागत तवरले लागेका पनि छन् । जनउत्थान प्रतिष्ठान र जनउत्थान लघुवित्त बैंकिङ संस्थाका उनी संस्थापक अध्यक्ष हुन् । 

डा. बीकेले यसै विषयमा विद्यावारिधि गरेका छन् । यो डा. बीकेको विद्यावारिधिबाट निकालिएको नयाँ ढाँचा हो सामुदायिक बैंकिङ प्रणाली, जसलाई तेस्रो पुस्ताको लघुवित्तका रूपमा पनि चिनिन्छ । उनी भन्छन्, ‘यो ढाँचालाई नेपाल राष्ट्र बैंकले स्वीकृति दियो भने समुदायमा मिटरव्याजीबाट ग्रस्त भएका र त्योभन्दा पनि अझ तल्लो तप्काका आधारभूत जनतासँग वित्तीय सेवा पुर्‍याउन सकिन्छ ।’

यो ढाँचालाई राष्ट्रव्यापी अभ्यास गर्न नेपाल राष्ट्र बैंकमा अनुरोध गरिसकिएको छ । उनले अमेरिकाको ब्रान्डाइज युनिभर्सिटीबाट विश्वको प्रख्यात फुलब्राइट फेलोशिप अन्तर्गत खाद्य सुरक्षा विषयमा उत्तर विद्यावारिधि समेत गरेका छन् । अहिले उनी कसरी सामुदायिक बैंकिङ प्रणालीले विशेषगरी सिमान्तकृत समुदायमा खाद्य सुरक्षा, सामाजिक उद्यमशीलता र सामुदायिक उत्थानशिलता बढाउन सकिन्छ भन्ने विषयमा घोत्लिँदैछन् ।

उनी स्थानीय तह, प्रदेश सरकार र विभिन्न संघसंस्थाहरूमार्फत पालिकाहरूमा विशेषगरी वित्तीय संघीयता र सुशासनका लागि सघाउँदै आएका छन् । साथै समावेशी शासन प्रणाली कसरी बनाउन सकिन्छ भन्नेबारे पनि देशका विभिन्न जिल्ला र मधेश प्रदेशका गाउँगाउँमा पुगेर प्रशिक्षण दिइरहेका छन् ।

विश्वभरि नै सामाजिक समावेशीकरणको सवाल उच्च प्राथमिकतामा छ । जुनसुकै मुलुकमा पनि कुनै न कुनै तहको बहिष्करण रहेकै हुन्छ । भलै त्यसको आयाम र आयतनमा फरक रहेको उनको बुझाइ छ । ‘जब समाजमा कुनै न कुनै आधारमा समूह, समुदाय वा जाति समान हैसियत र सम्मानका साथ जीवन गुजार्न पाउँदैन भने त्यो बहिष्करणको अवस्था हो,’ उनी भन्छन्, ‘राज्यबाट संरचनागत तवरले नै विभेद गरिएको र त्यसको कारणले अवसरबाट वञ्चित हुनुपरेको छ । त्यसबाट समाजलाई मुक्त गर्न आवश्यक छ ।’ 

विभेद र बहिष्करण समानता, न्याय र समृद्धिको बाधक रहेको उनको ठहर छ तर राज्यले यो विषयलाई गम्भीरतापूर्वक नलिएको उनको बुझाई छ । हुन पनि सिंगो दलित समुदायबाट विशिष्ट श्रेणीको सचिव तहमा पुगेको एक मात्र व्यक्तिलाई राज्यले महत्त्वपूर्ण जिम्मेवारी दिनुपर्ने हो, त्यसो हुन नसक्दा उनको कुरा पुष्टि भए जस्तो पनि लाग्छ । 

कोरोना महामारीपछि विश्व नै नयाँ आर्थिक प्रणाली अनुसार चल्नुपर्ने अवस्था अपरिहार्य भएको कुरा सर्वव्यापी छ । अब नवउदारवादी आर्थिक नीतिले कुनै पनि मुलुकले दीगो र समावेशी विकास गर्न नसक्ने उनी बताउँछन् । बरु यसले अनगिन्ती नवउदार ज्यादती सिर्जना भएको फेहरिस्त नै बताउँछन् डा. बीकेले । नवउदार अर्थनीति र भूमण्डलीकरणले गर्दा विश्वमा ६१ प्रतिशत स्थानीय खाद्य प्रणाली ध्वस्त भएको छ, त्यसैले उत्तर विद्यावारिधिको अनुसन्धानबाट संरक्षित उदारवादको आर्थिक नीति नै विकास गरेका छन् डा. बीकेले, जुन कोभिड महामारीपछि त झनै सान्दर्भिक भएको उनको जिकिर छ ।

संरक्षित उदारवाद अर्थनीतिको एउटा पक्ष हरित अर्थतन्त्र निर्माण हो, जुन अहिले विश्वकै उच्च प्राथमिकतामा रहेको छ । त्यसैले हरित, उत्थानशील र समावेशी विकासका लागि ‘ग्रीन ग्रोथ डेभलपमेन्ट’ उनको तेस्रो अभियान हो । विकासको मोडललाई वातावरणमैत्री बनाउन तथा मौलिक स्थानीय प्रणालीको सम्वद्र्धन गर्न हरित वृद्धि विकास रणनीतिका लागि पहल गरेको उनी बताउँछन् । उनले यो विषयमा कोर्स समेत तयार गरेका छन्, जुन अमेरिकाको अकामाई युनिभर्सिटीमा अध्यापन हुन्छ ।

डा. बीके यी विषयहरू समेत समेटेर शिक्षा क्षेत्रमा नयाँ अभियानको नेतृत्व गर्दै अगाडि बढेका छन् । नेपालको शिक्षा प्रणालीमा विश्वविद्यालय खोल्ने होडबाजी चले पनि कुनै पनि यस्ता विश्वविद्यालय र शैक्षिक संस्थाहरूले रैथाने सीप, कला संस्कृति जगेर्ना गर्दै अध्ययन/अध्यापन गराउने भिजन ल्याउन सकेका छैनन् । यस्ता विषय जगेर्ना नगर्दा रैथाने सीप हुने मानिस पनि विस्थिापित भई कोही मजदुर बनेका छन् भने कोही खाडीमा पुग्नुपरेको छ । त्यति मात्रै होइन, हाम्रो मौलिक पहिचान जोगाउनै धौंधौं भइरहेको छ ।

यस्तो विषयको अध्यापन गराउने गरी रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापनाको अभियानको नेतृत्व लिएका छन् डा.बीकेले । अभियानले युवालाई स्वदेशमै रोजगार बनाउने मात्र होइन, देशको स्वाभिमानलाई उचो गराउने दाबी गर्छन् उनी । यो विषय नेपाल सरकारको राष्ट्रिय शिक्षा नीतिमा उल्लेख भएको विषय पनि हो । 

नेपालको जनसंख्यामा रैथाने जातजातिको रूपमा आदिवासी जनजातिहरू ३६ प्रतिशत र दलित समुदाय १३ प्रतिशत छन् । त्यसमध्ये आदिवासी जनजातिका २५० भन्दा बढी परम्परागत/अनुवांशिक अभ्यासहरू र दलित समुदायका २३ भन्दा बढी परम्परागत पेशा छन् भने अन्य रैथाने समुदायका अनगिन्ति सीप, कला/कौशल, संस्कृति र मौलिक ज्ञान छन् । ती समुदायको परम्परागत ज्ञान, सीप र संस्कृतिको जगेर्ना गर्न र तिनीहरूलाई शैक्षिक कार्यक्रमको रूपमा विकास गर्न विश्वविद्यालय स्थापनाको अभियानमा जुटेको बीके बताउँछन् ।

अभियानलाई संस्थागत गर्न र प्रवद्र्धनात्मक काम गर्न रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपालको स्थापना गरिएको छ, जसका उनी अध्यक्ष हुन् । यसबाहेक निजामती सेवामा प्रवेश गर्न चाहने विशेष गरी सिमान्तकृत समुदायका युवाहरूलाई पनि उनले कोचिङ/परामर्श गर्दै आएका छन् । समाज सेवामा उत्तिकै रुचि राख्ने र संलग्न हुन चाहने डा. बीके मानव सेवा प्रवद्र्धन, बाल अधिकारको संरक्षण, समावेशी शिक्षा, समृद्धिका लागि उद्यमशीलता, विभेद र बहिष्करण विरुद्धका अभियान जस्ता सामाजिक क्रियाकलापमा पनि उत्तिकै सक्रिय छन् । 

डा. बीकेले निजामती सेवा प्रवेश गरेको ४ वर्षपछि खुला प्रतिस्पर्धामार्फत शाखा अधिकृतमा नाम निकाल्न सफल भएका थिए तर त्यसमा पनि उनले कम सास्ती झेल्नुपरेन । २०५८ सालदेखि उनले निजामती सेवाभन्दा बाहिर बसेर विभिन्न अन्तर्राष्ट्रिय निकायमा काम गरे । पहिलो संविधान सभाका बखत उनी संयुक्त राष्ट्रसंघबाट सञ्चालित संवैधानिक संवाद केन्द्रका प्रमुख थिए तर शाखा अधिकृतमा प्रवेश गरेको २० वर्षपछि उनी विक्रम संवत् २०६७ फागुनमा खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकाल्न सफल भई निजामती सेवामै फिर्ता भए र सहसचिवबाट कार्यसम्पादन मूल्यांकनका आधारमा २०७७ असार २९ गते सचिवमा बढुवा भएको विगत उनले सम्झिए । 

दलित समुदायबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ) हुने रेकर्ड पनि उनैले कायम गरे । उनले सरकारी सेवामा रहँदा बर्दिया, तनहुँ, चितवन, सिराहा र मकवानपुर जिल्लाको सीडीओ भएर सफल नेतृत्व पनि गरेका थिए । सीडीओ भएर काम गर्दा पनि दलितमाथि हुने विभेद देखे ।

‘दलितमाथि मात्रात्मक रूपमा र स्वरूपमा केही तलमाथि होला, विभेद देशभर उस्तै रहेछ । म निजामती सेवा प्रवेश गरिसकेपछि पनि डेरामा बस्दा भोगेको विभेद र अहिले पनि दलितमाथि शहरमा हुने विभेद उस्तै छ,’ उनी भन्छन् । 

भैरव जनता मावि पाल्पाबाट २०३७ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका उनले त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाटै व्यवस्थापन संकायमा स्नातक गरे । नेपाल कमर्स क्याम्पस मीनभवन काठमाडौंबाट स्नातकोत्तर गरेका डा. बीकेले आईएसएस नेदरल्याण्डबाट सामाजिक अध्ययनमा स्नातकोत्तर, त्रिभुवन विश्वविद्यालयबाट लघुवित्तमा समावेशीकरण विषयमा विद्यावारिधि र ब्रानडाइज युनिर्भसिटी अमेरिकाबाट खाद्य सुरक्षा विषयमा फुलब्राइट फेलोशिप अन्तर्गत उत्तर विद्यावारिधि गरेका छन् । उनले भारतको कानपुरबाट चार्टर्ड एकान्टेन्टको कोर्स पनि गरेका छन् तर कार्यालयबाट अध्ययन बिदाको लागि सास्ती झेल्नुपरेपछि अधुरै छोड्नुपरेको स्मरण पनि सुनाए । 

उनका क्याम्पसका कोर्स र अनुसन्धानमा आधारित २ दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । व्यवस्थापनमा स्नातकोत्तर तहको तत्कालीन कोर्समा आधारित नेपाली भाषामा पुस्तक निकाल्ने उनी पहिलो थिए । सरकारी जागिरमा हुँदाहुँदै पनि पढाउने र पुस्तक लेख्ने काम निरन्तर गरिरहे उनी । ‘मेरा पुस्तकहरू फोटोकपी गरेर समेत बिक्री हुन्थे,’ उनी सम्झन्छन् ।

पछिल्लोपटक प्रकाशित उनको पुस्तक ‘भोक निवारणका लागि खाद्य सत्ता निर्माण’ चर्चामा छ ।

साहित्यमा पनि रुचि राख्ने डा. बीकेले हालै ‘मान्छे र माटो’ कवितासंग्रह–२ साहित्यिक नाम ‘बीके सेवक’को नामबाट प्रकाशन गरेका छन् भने कथासंग्रह प्रकाशन हुने क्रममा छ । उनी विद्यार्थी कालमा ‘जनउत्थान मासिक’ पत्रिका र ‘दलित सोलिडारिटी’ ईङ्गलिस बुलेटिनका प्रधान सम्पादक समेत थिए ।

‘सबैभन्दा ठूलो शक्ति परिश्रम, धैर्य र ध्येयप्रतिको समर्पण होस्, आफ्नो ध्येय हासिल गर्न जुनसुकै काम गर्न पनि तयार हुनुपर्छ,’ उनी भन्छन् । आमाबुवाको त्यो संघर्षपूर्ण योगदानले नै आफूले यो हैसियत हासिल गरेको कुरा उनी भावुक हुँदै बताउँछन् । डा. बीके सिमान्तकृत समुदायका मात्र होइन, पूरै समाजका लागि एक ‘रोल मोडल’ हुन् । आफ्ना जीवनका यी अनुभवहरू छिट्टै किताबको रूपमा प्रकाशन गर्ने तरखरमा रहेको पनि डा. बीकेले बताए । उनले विभिन्न विषयहरूमा लेखेका लेख कार्यपत्रहरू https://akamaiuniversity.academia.edu/ManBkPhD मा उपलब्ध छन् ।

salt training

कमेन्ट गर्नुहोस्