
सुनसरीको इटहरी–२ मा पीकअपको ठक्करबाट शुक्रवार राति १ मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक इटहरी–२ का २८ वर्षीय लोमस दाहाल रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इटहरी–२ गंगामार्गस्थित कोसी राजमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश१–०२–००२च ४६६२ नम्बरको पीकअप गाडीले सोही दिशातर्फ आउँदै गरेको को१६प ५७२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा लोमसको मृत्यु भएको हो ।
सोही दुर्घटनामा मोटरसाइकलमा सवार इटहरी–५ का २९ वर्षीय सरोज गुरागाईं सख्त घाइते भएको प्रहरीले जनाइएको छ । घाइते गुरागाईंको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पीकअप गाडी तीव्रगतिमा रहेका कारणले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुवै सवारीसाधन इटहरी प्रहरीको नियन्त्रणमा रहेको र फरार पीकअप चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।