२४ जेठ २०८३, आइतबार

कांग्रेसभित्रको किचलोका कारण सिट बाँडफाँट टुंगिएनः माधव नेपाल

कांग्रेसभित्रको किचलोका कारण सिट बाँडफाँट टुंगिएनः माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसभित्रको किचलोका कारण आगामी निर्वाचनका लागि सिट बाँडफाँट गर्ने काम नटुंगिएको बताएका छन् । शनिवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले केही दिनभित्रै गठबन्धनमा आबद्ध दलहरूले सिट बाँडफाँटको विषय टुंगो लगाउने बताए । 

आगामी निर्वाचनका लागि गठबन्धनभित्र दल सिट बाँडफाँटबारे सहमति जुटाउने प्रयास भइरहेको छ । तर, सबै दलले आफ्नो अडान नछाडेकाले सहमति जुटिसकेको छैन । खासगरी कांग्रेसभित्र संस्थापन पक्षइतर समूहले १०० सिटभन्दा कम लिएर गठबन्धन गर्न नहुने अडान राखिरहेको छ । सोही अवस्थाप्रति लक्षित गर्दै अध्यक्ष नेपालले कांग्रेसको आन्तरिक किचलोका कारण सिट बाँडफाँटको विषय टुंग्याउन नसकिएको बताएका हुन् । 

तपाईंहरूले कति सिट पाउनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष नेपालले आफ्नो पार्टीको दाबी ४० सिटमा रहेको संकेत गरेका छन् । ‘बाहिर मिडियामा तपाईंहरूले नै ४० सिट भनेर लेखिदिनु भएको छ’, उनले भने । उनले जित्ने संभावनाका आधारमा गठबन्धन दलहरूबीच सिट बाँडफाँट हुनुपर्ने आफ्नो धारणा रहेको प्रष्ट पारे । ‘कुन ठाउँमा कुन दललाई दिँदा जित सुनिश्चित हुन्छ त्यहीअनुसार भागबन्डा गरौँ भन्ने मेरो मान्यता हो’, उनले प्रष्ट पारे । 

अध्यक्ष नेपालले अब चुनाव अघि वाम एकताको सम्भावना नरहेको बताएका छन् । उनले चुनाव अघि वाम गठबन्धनको सम्भवना नरहे पनि चुनावपछि भने अवस्था हेरेर हुनसक्ने बताए । उनले तत्काल माओवादी केन्द्रसँग गठबन्धन हुने भए पनि पार्टी एकता भने नहुने उनले प्रष्ट पारे । 
 

salt training

कमेन्ट गर्नुहोस्