०४ साउन २०८३, सोमबार

बुटवलका अधिकांश मासु पसल दुर्गन्धित, अखाद्य मासुको बेचबिखन

बुटवलका अधिकांश मासु पसल दुर्गन्धित, अखाद्य मासुको बेचबिखन

बुटवल बजार क्षेत्रका अधिकांश मासु पसल दुर्गन्धित र केहीमा अखाद्य मासु बिक्री वितरण गर्ने गरिएको भेटिएको छ । बुटवल उपमहानगरपालिकाले बजारका विभिन्न मासु पसलको अनुगमन गर्दा कुहिएको मासु र सरसफाइमा ध्यान नदिएको पाइएको हो । अनुगमन टोलीले विभिन्न पसलबाट अखाद्य २२ केजीभन्दा बढी खसी र कुखुराको मासुसमेत नष्ट गरेको छ ।  

नगरपालिकाले बुटवलको इँटाभट्टी, तीनकुने, होराइजन चोक, देवीनगरलगायतका क्षेत्रमा सञ्चालनमा रहेका ११ वटा मासु पसलमा अनुगमन गरेको थियो । बुटवल उपमहानगर उपप्रमुख सावित्रादेवी अर्यालको संयोजकत्वमा गरिएको अनुगमनमा ३ वटा मासु पसलमा अखाद्य मासु भेटिएको थियाे भने अधिकांश बधशालामा सरसफाइमा ध्यान नदिएको पाइएको छ । अखाद्य मासु भेटिएका पसल सञ्चालकलाई उपमहानगरपालिकाले बोलाइएको छ । अन्यलाई मापदण्डअनुसार पसल सञ्चालन गर्न निर्देशन दिइएको उपप्रमुख अर्यालले जनाकारी दिइन् । 

उपप्रमुख अर्यालले चाडपर्वको समयमा मासुको प्रयोग बढी हुने भएको मासु पसलमा अनुगमन गरी स्वच्छ र स्वस्थ्य मासुको प्रत्याभूति गराउने प्रयास गरेको बताइन् । उनले भनिन्, ‘चाडपर्वको समयमा जुन पदार्थको बढी खपत हुन्छ र कालोबजारीको डर हुन्छ त्यहीँ वस्तु तथा पसलमा अनुगमन गरेका छौँ । यसले गर्दा बुटवलका बासिन्दाले स्वस्थ्यकर मासु उपभोग गर्न पाउनुहुनेछ ।’

बुटवल उपमहानगरपालिकाका पशु चिकित्सक झविन्द्र बन्जाडेले थप प्रक्रियाको लागि मासु पसलेहरूलाई बुटवल उपमहानगर बोलाइएको बताए । उपभोक्ता हित संरक्षण मन्च बुटवल उपमहानगर अध्यक्ष समुन्द्र जिसीले चाडपर्वमा हुने अखाद्य वस्तुको बेचबिखन हुनसक्ने भएकोले अनुगमन आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तर र गोप्य तरिकाले गर्नुपर्ने बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्