
सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक आइतवार दिउँसो बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको गठबन्धनका एक नेताले बताए ।
आगामी चुनावमा तालमेल गर्ने निर्णय गरेका गठबन्धनका दलहरूबीच सिट बाँडफाँटबारे अझै कुरा मिल्न सकेको छैन । कार्यदल बनाएर सिट बाँडफाँटको गृहकार्य गरेको भए पनि कार्यदलले टुंगो लगाउन नसकेपछि शीर्ष नेताहरूसहित छलफल हुन थालेको छ ।
दलहरूले अस्वभाविक रूपमा सिटमा दाबी गरेपछि बाँडफाँट टुंगिन नसकेको शीर्ष नेताहरूले नै टिप्पणी गरिरहेका छन् ।
गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गर्ने निर्णय गरेका छन् ।
तालमेलको लागि सिट बाँडफाँट टुंगो लगाउन नसके पनि अब भने निर्वाचन क्षेत्र बाँडफाँटसहित प्याकेजमा सिट बाँडफाँटको सहमति गर्ने नेताहरूले बताइरहेका छन् ।
आजको बैठकमा निर्वाचन क्षेत्रसहित सिट बाँडफाँटको बारेमा छलफल हुने नेताहरूले बताएका छन् ।