
मदिरा सेवन गरी ट्याक्सी चलाउने २ जना चालकविरुद्ध ट्राफिक प्रहरीले अभद्र व्यवहार मुद्दा दर्ता गरेको छ ।
प्रहरीले शनिवार राति काठमाडौंको सुकेधाराबाट पक्राउ परेका बा २ ज ३३४१ नम्बरको ट्याक्सी चालक सुनसरीका ३४ वर्षीय विकास सुनार र कीर्तिपुरबाट पक्राउ परेका बा २ ज ६५४ नम्बरको ट्याक्सी चालक ललितपुर ९ का ४६ वर्षीय राजेन्द्र महर्जनविरुद्ध मुद्दा दर्ता गरेको हो ।
सुनारलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ । महर्जनलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त कीर्तिपुरमा बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका उनीहरुलाई कारबाही गर्न खोज्दा आवश्यक कागजपत्र नदिनुका साथै ट्राफिक प्रहरीमाथि नै अभद्र व्यवहारसमेत गरेका थिए । प्रहरी वृत्तहरूमा बुझाइएका दुवै चालकलाई अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउन म्याद थपका लागि जिल्ला अदालत पठाइएको छ ।
सार्वजनिक सवारी साधनका चालकहरूले मापसे गरेर सवारी साधन चलाउन थालेपछि दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरीले जनाएको छ । सम्भावित दुर्घटनालाई रोक्नका लागी ट्राफिक चेकजाँचलाई तीव्रता दिइएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिए ।