
प्रतिनिधि सभाको कार्यकाल लम्ब्याउनको लागि सरकारले प्रतिनिधि सभामा ल्याउन लागेको केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित गर्न संसद् नियमावलीका केही प्रावधान निलम्बन गर्ने तयारी भएको छ ।
आइतवार बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूचीमा कानूनमन्त्री गोविन्द कोइरालाले केही नेपाल ऐन संशोधन गर्ने विधेयक पेश गर्ने कार्यसूची छ । मंसिर ४ गते निर्वाचित भएर आउने प्रतिनिधि सभाको पहिलो बैठक बसेको दिनसम्म अहिलेको प्रतिनिधि सभाको कार्यकाल रहने गरी विधेयक सरकारले संसदमा पेश गर्दैछ ।
त्यसअघि नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले नियमावली निलम्बनसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची छ । प्रतिनिधि सभाको कार्यकाल बढाउने कानून ल्याउने तयारी गरेको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधि सभा त्यागेको घोषणा गरेका छन् ।
यस्तै नेमकिपाका प्रेम सुवालले पनि प्रतिनिधि सभाको कार्यकाल लम्ब्याउने तयारीप्रति आपत्ति जनाएका छन् ।
