२५ जेठ २०८३, सोमबार

मिराजको निर्देशनमा कमलको मार्मिक गीत ‘बाकस’ [भिडियो]

मिराजको निर्देशनमा कमलको मार्मिक गीत ‘बाकस’ [भिडियो]

म्युजिक भिडियो सम्पादनमा कहलिएका मिराज अर्यालको निर्देशनमा ‘बाकस’ बोलको गीत सार्वजनिक भएको छ । गायक एवं सर्जक कमल खनालको प्रस्तुति रहेको गीतमा बालगायक–गायिका सुप्रिम मल्ल ठकुरी र पूजा देवकोटाले स्वर दिएका छन् । 

खनाल स्वयंको शब्द एवं संगीत रहेको गीतलाई मनोज खड्काले एरेन्ज गरेका हुन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका खनालले सार्वजनिक गरेको गीतको कहानी भने बाध्यताले खाडी मुलुक पुग्ने महिलाहरूको हो । ‘आफ्नो साना–साना सन्तानहरुलाई छाडेर आकाशमा उडेकी आमा बाकसमा फर्किँदाको पीडा गीतमा समेटेका छौँ’, गीतकार एवं संगीतकार खनालले भन्छन् । 

विदेशमा नेपाली महिलाले भोग्नुपरेको पीडा र मृत्यु, अर्कोतर्फ नेपालमा पारिवारिक विचलनको दृश्यहरू समेत गीतको भिडियोमा समेटिएको छ । निर्देशक मिराजले गीतको भिडियो निर्माणमा निकै मेहनत गरिएको बताए । ‘सम्पूर्ण टिमले नै एकदमै मेहनत गरेका छौँ । त्यसैले गीतबाट अपेक्षा पनि धेरै लिएका छौँ’, उनले भने, ‘आशा छ दर्शकहरूले रुचाउनुहुनेछ ।’ 

भिडियोमा सारिका केसी, कुलदीप अधिकारी, बाल कलाकारद्वय उमेश ढकाल र मञ्जिला बानियाँको अभिनय छ । आयुषा क्षेत्री, नरेश धिताल, मिथिला बानियाँ, शान्ति भट्ट, अशोक अर्यालले पनि भिडियोमा अभिनय गरेका छन् । 

दिनेश विष्टको छायाँकन रहेको भिडियोलाई निर्देशक मिराज स्वयंमले सम्पादन गरेका हुन् । 

गीतका प्रस्तुतकर्ता खनाल अमेरिकामा रहे पनि नेपाली गीतसंगीतलाई निरन्तरता दिँदै आएका छन् । यसअघि उनको स्वर रहेका ‘डाली पलायो’, ‘छुट्टिने दिन आयो’, ‘न्याउली रुदा यो मन रुन्छ नी’, ‘भेटौँला अवश्य’लगायतका गीतहरू रुचाइएका छन् । 

सार्वजनिक ‘बाकस’ गीतलाई पनि स्रोता दर्शकले रुचाउने खनालको अपेक्षा छ । ‘एकदमै राम्रो प्रतिक्रियाअरु आएका छन् । जतिले हेर्नुभएको छ सबैले मन पराउनुभएको छ’ गीतको प्रारम्भिक प्रतिक्रियाबारे खनाल भन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्