
नेपाल टेलिभिजनबाट तथा ओएसआर डिजिटलबाट प्रशारण भइरहेको कमेडी रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’को टिमले सफलताको सेलिब्रेशन गरेको छ ।
शो प्रशारणको २६ भाग पुगेको अवसरमा आइतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै केक काटिएको हो ।
शोका निर्देशक विशाल भण्डारीले शुरूवातमा कार्यक्रमलाई अगाडि बढाउन केही गाह्रो भएपनि अहिले दर्शकको माया पाउँदा खुशी लागेको बताए ।
शुरूवातमा युट्युबमै भ्यूज नपाउँदा समस्या भएपनि अहिले हरेक शो १० लाख भन्दा बढीले युट्युबमा हेरेको भन्दै उनले नयाँ–नयाँ सोँचका साथ शोलाई अगाडि बढाउने बताए ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुगेका हाँस्य कलाकार दीपकराज गिरीले भने,‘पहिलो भागमा म अतिथिको रुपमा पुगेको थिएँ । सो समयमा कलाकारहरुले मलाई हसाँउन सकेनन् । तर, अहिले शो गज्जब तरिकाले अगाडि बढिरहेको छ । यो शोमा सहभागी भाइबहिनीहरुको प्रगति देखेर खुशी लागेको छ ।’
यस्तै, शोकी अध्यक्ष दीपाश्री निरौलाले पनि नयाँ पुस्ताले कमेडीलाई नयाँ तरिकाले अगाडि बढाएको भन्दै खुशी व्यक्त गरिन् ।
उनले शोमा काम गर्दा पारिवारिक वातावरणमा रमाइलो शैलीमा काम गर्ने गरेको पनि खुलाइन् ।
‘कमेडी क्लब विथ च्याम्पियन्स’को अबको बाँकी भाग कमेडियन विक्की अग्रवालले निर्देशन गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइयो ।
१० भागसम्म विक्कीले नै निर्देशन गरेको शोको बाँकी भाग विशालले अगाडि बढाएका थिए । तर, अब बाँकी भाग विक्कीले नै शुरू गर्नेछन् ।
यो शोमा सुमन कार्की, कैलास कार्की, पवन भट्टराई, उषा रजक, उमेश राई, साजन श्रेष्ठ, विक्की अग्रवाल, मेक्सम गौडेलले आफ्नो प्रस्तुति दिँदै आएका छन् ।
सफलता सेलिव्रेशन कार्यक्रममा सबै कलाकारहरुले दर्शकले दिएको माया कारण हरेक साता केही नयाँ गर्न मन लाग्ने सुनाए ।
कि एड्भटाइजिङ र थर्ड आई प्रोडक्शनसँग मिलेर यो शो निर्माण गरेको हो । यो शो आउँदो वर्षको असार मसान्तसम्म चल्नेछ ।