सोमवार खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडकोे प्राथमिक शेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो ।
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने १८ लाख ८३ हजार १ सय १८ वटा आवेदनमध्ये दोहोरो आवेदनका कारण रद्ध भएका १ हजार ५ सय ५१ तथा अन्य कारणबाट आवेदन रद्ध भएका ९८ हजार ४ सय ९३ बाहेक बाँकी रहेका १७ लाख ८३ हजार ७४ वटा योग्य आवेदनहरू मध्येबाट १२ हजार ३४० जनालाई न्यूनतम १० इकाइ बाँडफाँट गरिएको छ ।
प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक भई भदौ ८ देखि १२ गतेसम्म सार्वजनिक रूपमा निष्काशन खुला गरिएको खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर निष्काशन गरिएको थियो । कूल शेयर १ लाख ३२ हजार कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत बराबर ६ हजार ६ सय कित्ता तथा कर्मचारीलाई जारी पूँजीको ०.५ प्रतिशत बराबर २ हजार कित्ता छुट्याई बाँकी रहेको १ लाख २३ हजार ४ सय कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो ।
निष्काशन गरिएकोमा शेयरमा करिब १६८.६४ गुणासम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँट सम्पन्न गरिएको जनाइएको छ ।