
स्पेनबाट जर्मनीको कोलोनका लागि उडेको एक निजी विमान बाल्टिक सागरमा हराएको छ ।
आइतवार उक्त विमान लाट्भियाको तट नजिक दुर्घटनाग्रस्त भएको बताइएको छ ।
जर्मनी जानुपर्ने विमानले अचानक दिशा परिवर्तन गरी बाल्टिक सागरतिर गएको अनि एयर ट्राफिक कन्ट्रोलरहरूले त्यससँग सम्पर्क कायम गर्न नसकेको पाइएको छ ।
जर्मनी, डेनमार्क र स्विडनका लडाकू विमानहरूले हराएको निजी विमानका कर्मचारीसँग सम्पर्क गर्न खोजेका थिए । तर उनीहरूले ककपिटमा कसैलाई पनि देखेनन् । पाइलटविना नै विमान उडेको पाइएकाले त्यसलाई भूताहा विमान भनिएको हो ।
सेस्ना ५५१ विमान स्विडनको हवाईक्षेत्रमाथि उडेर बाल्टिक सागरमा खसेको थियो ।
लाट्भियाको भेन्टस्पिल्स नजिक पुग्दासम्म पनि विमान सामान्य अवस्थामा थियो । तर पछि त्यो अकस्मात् खस्यो । त्यसको इन्धन सकिएको हुन सक्ने अनुमान गरिएको छ ।
विमानमा चार मानिस थिए । उनीहरू कुन देशका हुन् भनी खुलेको छैन ।
लाट्भिया, लिथुएनिया र स्विडनका उद्धारकहरू डुंगा र हेलिकप्टर लिएर दुर्घटनास्थलमा खोजी गरिरहेका छन् ।