
नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले साफ महिला च्याम्पियनसीप फुटबलको उपाधि जित्ने दृढता व्यक्त गरेकी छन् । मंगलवारबाट नेपालमा हुन लागेको साफ महिला च्याम्पियनसीपको उपाधि अन्य देशलाई लैजान नदिने उनको भनाइ छ ।
काठमाडौंमा सोमवार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै कप्तान एन्जिलाले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता उपाधि जित्न सक्षम रहेको बताइन् । मंगलवारबाट आरम्भ हुने प्रतियोगितामा नेपालले भुटानसँग खेल्दै शुरुवात गर्नेछ । नियमित कप्तान रेनुका नगरकोटी प्रतियोगिता तयारीको क्रममा चोट बोक्दै बाहिरिए पनि कप्तानको आर्मब्याड पाएकी एन्जिलाले घरेलु समर्थक र मैदानको भरपुर फाइदा उठाउँदै खेल्ने र उपाधि जित्न प्रयास गर्ने बताइन् ।
नेपाली टोलीका प्रशिक्षक कुमार थापाले विगतमा भएको कमी कमजोरी घटाएर राम्रो फुटबल खेल्दै उपाधि जित्ने लक्ष्य लिएको बताए । सात साताको अभ्यास पहिलो प्राथमिकता भुटानसँग भएको बाँकी खेलका लागि तत्काल रणनीति तयार गरेर टोली अगाडि बढ्ने प्रशिक्षक थापाले बताए ।
अहिलेसम्म सम्पन्न साफ च्याम्पियनसीपका खेलमा नेपाल भुटानसँग पराजित भएको छैन ।
भुटानकी प्रशिक्षक क्युङ सुक होङले प्रतियोगिताका लागि राम्रो तयारी गरेर आएको र केही दिनको नेपालको अभ्यास खेलबाट टोलीमा मनोबल उच्च भएको बताए । टोलीकी कप्तान पेमा छोदेन छिरिङले घरेलु मैदानमा नेपालको सामना गर्न सहज नहुने बताए पनि प्रतिष्पर्धात्मक खेल हुने बताइन् ।
यस्तै, अन्य टोलीले पनि साफ महिला च्याम्पियसीपका लागि तयारी राम्रो गरेको र प्रतिष्पर्धात्मक खेलका तयार रहेको प्रतिक्रिया दिए ।
मंगलवार हुने प्रतियोगितामा पाकिस्तानले ८ वर्षपछि सहभागिता जनाउँदै छ । यो संस्करणमा साफका सबै देशले सहभागिता जनाउँदै छन् । उद्घाटन खेल खेल्न लागेको नेपाल महिला साफको पाँच संस्करणमा उपविजेता बनेको हो ।
विराटनगरमा भएको पछिल्लो संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो ।
दक्षिण एशियाका सातै देशले सहभागिता जनाउन लागेको प्रतियोगितालाई साफले दुई समूहमा विभाजन गरी लिगकम नकआउटको आधारमा खेलाउँदै छ । प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी सात राष्ट्रले प्रतिधपर्धा गर्नेछन् । समूह ‘ए’ मा नेपाल, श्रीलंका र भुटान छन् । समूह ‘बी’ मा भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन् । प्रत्येक समूहबाट अंकको आधारमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।