
निर्देशक ज्ञानेन्द्र देउजाले ‘झिंगेदाउ’ फिल्म हेर्ने दर्शकको उपस्थिति उत्साहजनक रहेको बताएका छन् । प्रदर्शनको पहिलो दिन हलमा अपेक्षित दर्शक नआए पनि शनिवारदेखि दर्शकको उपस्थिति ह्वात्तै बढेको देउजाले बताए ।
फिल्म हेर्ने अधिकांश दर्शकले राम्रो प्रतिक्रिया दिएको उनले बताए । ‘फिल्म सबैले मन पराउनुभएको छ । पारिवारिक फिल्म भएकाले स–परिवार हलमा आउनेहरु पनि धेरै हुनुहुन्छ’, उनले भने, ‘माउथ पब्लिसिटीका कारण दर्शकहरू बढिरहनुभएको छ ।’
उनले सोमवार पनि हलमा दर्शकको उपस्थिति उत्साहजनक रहेको बताए । ‘आउने दिनमा व्यापार अझ राम्रो हुनेमा आशावादी छु’, देउजाले भने ।
‘झिंगेदाउ’ साहित्यकार भीमनिधि तिवारीको कथा कृतिमा आधारित फिल्म हो । यस फिल्मले आमा र सन्तानबीचको कथालाई पेश गरेको छ । फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल विष्ट हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजालगायतको अभिनय छ । सुलभ प्रतिक देउजा र समीक्षा देउजा यस फिल्मका निर्माता हुन् ।