
साझा प्रकाशनले पुस्तकालय दिवस र दशैँको अवसर पारेर पुस्तक प्रदर्शनी शुरु गरेको छ । प्रकाशनले नेपाली साहित्यको संरक्षण, पाठकहरूको सहजताका लागि भन्दै भदौ १९ देखि ३१ गतेसम्म पुस्तक प्रदर्शनीको आयोजना गरेको हो ।
पुस्तक प्रदर्शनीमा नेपाली साहित्यका विभिन्न विधाका पुस्तक राखिएको साझा प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोख्रेलले बताए । उनले नेपाली साहित्यका कथा, कविता, उपन्यास, निवन्ध र शब्दकोषलगायत विभिन्न पुस्तकहरू प्रदर्शनीमा राखिएको बताए ।
महाप्रबन्धक पोख्रेलले पुराना पुस्तकहरू एक रुपैयाँदेखि ७ रुपैयाँ र सबैभन्दा महँगो २८ सयसम्म पर्ने पुस्तकहरू प्रदर्शनीमा राखिएको बताए । उनले गत नयाँ वर्षमा गरिएको पुस्तक प्रदर्शनीमा पाठकहरूले देखाएको उत्साहले साझा प्रकाशन उत्साहित भएको भन्दै पुस्तकालय दिवस र दशैँको अवसर पारेर प्रदर्शनी आयोजना गरिएको बताए ।
‘२०४० सालभन्दा अगाडि प्रकाशित भएका पुस्तकहरूमा ५० प्रतिशत छुट दिएका छौँ । २०५० सालभित्र प्रकाशित भएका पुस्तकमा ४० प्रतिशत छुट र २०५१ सालपछि प्रकाशित भएका पुस्तकहरुमा ३० प्रतिशत छुट रहेको छ । शब्दकोषहरुमा २५ प्रतिशत छुट रहेको छ । साझा प्रकाशन बाहेक प्रकाशनका पुस्तकहरुमा ३० प्रतिशत छुटको व्यवस्था गरेका छौँ’, उनले भने ।