
हिमाली जिल्ला मनाङका चौरीगोठमा अज्ञात रोग देखिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ वडाका चौरी खर्कमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले जनाएको छ ।
केन्द्रका प्रमुख नारायण कुसुमले खर्कका चौरी मरेको थाहा पाउनासाथ स्थलगतरूपमा नै प्राविधिक टोलीसहित स्थलगत उपचार थालिएको जानकारी दिए।
समुद्र सतहदेखि चार हजार पाँच सय मिटरको उचाइमा रहेको हिमताल क्षेत्रमा चरन खर्कमा रहेका १० चौरी मरेको केन्द्रले जनाएको छ । “भ्राकामा चौरी मर्ने क्रम रोकिएको छ । तर ङावल क्षेत्रमा अझै चौरी बिरामी रहेकाले पशु विज्ञको निगरानी जारी रहेको छ”, केन्द्र प्रमुख कुसुमले भने ।
जिल्लामा पूर्णखोप अभियान चलाउने तयारी भइरहेका बेला चौरीमा देखिएको समस्याले खोप अभियानको सञ्चालन गर्न नसकिएको उनले बताए। जिल्लाका अन्य क्षेत्रका खर्कमा रहेका चौरीमा भने यो समस्या नदेखिएको जनाइएको छ । यस रोगबाट चौरी भएमा खोप अभियान सञ्चालन गरिने विज्ञ केन्द्रले जनाएको छ ।
भ्राकाको आइसलेकस्थित १५ पशु बिरामी परेकामध्ये १० मरेको जनाइएको छ । त्यस्तै मनाङ ङिस्याङ गाउँपालिका–८ टङ्कीस्थित प्रिप्चे चरन क्षेत्र चार हजार तीन सय मिटर उचाइमा रहेका बिरामी आठ चौरी मरेको केन्द्रका प्रमुख कुसुमले जानकारी दिए । हालसम्म ४२ चौरी बिरामी परेकामध्ये ३० मरेको उनले बताए ।
रोग निदानको लागि प्रादेशिक पशुरोग प्रयोगशाला पोखरा पठाइएको केन्द्रले जनाएको छ । प्रयोगशालाका प्रमुख केदारराज पाण्डेका अनुसार भ्यागुते रोग नै हो भन्ने पुष्टि भने भएको छैन ।
रोगको प्रारम्भिक लक्षणअनुसार भ्यागुते रोगको आशङ्का गरेअनुसार सो रोगविरुद्ध खोप कार्य पूर्ण खोप कार्यक्रमबाट काम भइरहेको र त्यो भ्यागुते रोग नभएको पशुपक्षी रोग अन्वेषण पोखरा पठाएको केन्द्रले जनाएको छ ।