३२ असार २०८३, बिहीबार

लागुऔषधमा मुछिएको एउटा झापाली परिवार– दाजुबहिनी पक्राउ परेपछि खुल्यो पोल

लागुऔषधमा मुछिएको एउटा झापाली परिवार– दाजुबहिनी पक्राउ परेपछि खुल्यो पोल

झापाको एक परिवारका सबै सदस्य लागुऔषध तस्करीमा संलग्न भएको खुलेको छ । लागुऔषध नियन्त्रण ब्यूरोले आज (मंगलवार) गरेको पत्रकार सम्मेलनमा ब्यूरो प्रमुख एसएसपी विकास खनालले परिवार नै लागुऔषधको तस्करीमा लागेको पाइएको जानकारी दिए । 

प्रहरीले लागुऔषध खैरो हेरोइन, गाँजा, बुर्फिनोफिन, हाइजेपामलगायत लागुऔषधसहित १५ जना काराेबारीलाई सार्वजनिक गरेको छ । उनीहरूको साथबाट प्रहरीले १० लाख ४० हजार रुपैयाँ नगद पनि बरामद गरेको छ ।  सार्वजनिक गरिएकामध्ये खैरो हेरोइनको तस्करीमा परिवार नै संलग्न देखिएको एसएसपी खनालले बताए ।

‘हामीले झापाबाट पक्राउ गरेका नौसाद आलम र अप्सरा राजवंशी सहोदर दाजुबहिनी हुन् उनीहरूको परिवार नै लागुऔषध तस्करीमा लागेको देखिएको छ’, एसएसपी खनालले पत्रकार सम्मेलनमा भने ।

प्रहरीले ललितपुर महानरपालिका–९ भालाखेका ३२ वर्षीय सञ्जय कपाली, रामेछाप मन्थली नगरपालिका–१३ फुलासीका २७ वर्षीय कुमार तामाङ, ललितपुर महानरपालिका–१७ दुपाटका २९ वर्षीय अनिस महर्जनलाई २२ हजार नगद, १७ वटा मोबाइल, ७ वटा घडी र ४ वटा गितारसहित पक्राउ गरेको छ ।

एसएसपी खनालका अनुसार अनिस महर्जनले लागुऔषध प्रयोगकर्तालाई मोबाइल, घडी, गितारलगायतका सामानहरू धितो राखेर लागुऔषधको सुई लगाइदिने गरेको अनुसन्धानमा देखिएको छ । प्रहरीले अनिसलाई नियमितरूपमा लागुऔषध ल्याइदिने सप्तरी डाक्नेश्वरी नगरपालिका–७ का २७ वर्षीय धरमदेव रामलाई पनि पक्राउ गरेर सार्वजनिक गरेको छ । उनले भारतबाट लागुऔषध ल्याएर अनिसलाई दिने गरेको अनुसन्धानबाट देखिएको ब्यूरोले जनाएको छ । 

यस्तै प्रहरीले साढे ४० ग्राम खैरो हेरोइनसहित ललितपुरबाट भैसेपाटीका २२ वर्षीय प्रताप कार्की, पाँचथर फिदिम नगरपालिका–१ का २४ वर्षीय भुवन विक र २५ वर्षीय देङ्ग हाङ्ग नेम्वाङलाई पक्राउ गरेको छ । 

२४७ ग्राम खैरोहोइनसहित गोकर्णेश्वर ९ माकलबारीका २५ वर्षीय उत्सव घिमिरे, भोजपुर ट्याम्केमैयुङ गाउँपालिका–९ का ४१ वर्षीय दोर्ची शेर्पा र भोजपुर पौवाढुङ्मा गाउँपालिका–१ की ३२ वर्षीया फुर्लामी शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सोही घटनामा झापा मेचीनगर नगरपालिका–१५ की ३० वर्षीया अप्सरा खातुन भन्ने अप्सरा राजवंशी र उनका दाजु ४४ वर्षीय नौसाद आलमलाई प्रहरीले झापाको काँकडभित्ताबाट पक्राउ गरेको जनाएको छ । 

प्रहरीको अनुसन्धानमा उनीहरूले भारतबाट नेपालमा लागुऔषध ल्याएर विभिन्न ठाउँमा सप्लाई गर्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको एसएसपी खनालले बताए ।

अमेरिकाको क्यालिफोर्नियाबाट २ केजी गाँजा पार्सल

लागुऔषध नियन्त्रण ब्यूरोले अमेरिकाको क्यालिर्फोनियाबाट २ केजी गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । अमेरिकाबाट गोश्वरा हुलाक मार्फत आएको २ केजी गाँजा लिन आउने काभ्रेपलाञ्चोक मन्डनदेपुर नगरपालिका–७ का २८ वर्षीय मनोज राई, काठमाडौं नक्सालका ३० वर्षीय अंकितकुमार श्रेष्ठ र काठमाडौं खुसिबुका ३० वर्षीय राहुल क्षेत्रीलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । 

प्रहरीले उनीहरूलाई लागुऔषध रिसिभ गर्न गएको अवस्थामा पक्राउ गरेको हो । कसले किन पठाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ब्यूरोका अनुसार अहिले बजारमा १ ग्राम लागूऔषधको १० हजार, एम्पुलको २ सय, गाँजाको प्रतिकिलो ३७ हजारका दरले बिक्री हुने गरेको जनाएको छ । प्रहरीले २९ लाख ९९ हजार ४ सय रुपैयाँ बरारबरको लागुऔषध नियन्त्रणमा लिएको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्