
बलिउड जोडी रणवीर कपूर र आलिया भट्टलाई मंगलवार साँझ भारतको उज्जैनस्थित महाकाल मन्दिरमा दर्शन गर्न बजरंग दलले रोकेको छ ।
उनीहरू त्यहाँ पुगेको खबर पाएपछि बजरंग दल र विश्व हिन्दू परिषद्का कार्यकर्ताहरूले विरोध गरेका थिए । उनीहरू कालो झण्डा लिएर महाकाल मन्दिरको भीआईपी गेटमा उभिएका थिए ।
केही गरी पनि उनीहरूलाई भित्र जान नदिइएपछि उनीहरू त्यत्तिकै फर्किए ।
प्रहरीले प्रदर्शनकारीहरूलाई रोक्न खोज्दा उनीहरूले प्रहरीसँग पनि झगडा गरे ।
फिल्मका निर्देशक अयान मुखर्जी र प्रोडक्सन टीमले मन्दिरको गर्भगृहमा गएर महाकालको दर्शन गरे । तर रणवीर र आलिया मन्दिर पुग्न पाएनन् ।
विरोध गर्ने कार्यकर्ताहरूका विरुद्ध धारा ३५३ अन्तर्गत जाहेरी दर्ता गरिएको छ ।
रणवीर कपूरले आफूलाई गाईको मासु मन पर्ने भनेकाले हिन्दूवादी संगठनहरूले विरोध गरिरहेका छन् । अनि उनीहरूको आउन लागेको फिल्म ब्रह्मास्त्रमा रणवीरले जुत्ता लगाएर मन्दिरको घन्टी बजाएकोमा पनि उनीहरूले आपत्ति जनाएका छन् ।