०५ साउन २०८३, मंगलबार

गठबन्धनमा सिट बाँडफाँट : १०० सिटमा कुरा मिल्यो

भदौ २२, २०७९
गठबन्धनमा सिट बाँडफाँट : १०० सिटमा कुरा मिल्यो

आगामी चुनावमा तालमेल गर्ने निर्णय गरेको सत्तारूढ गठबन्धनमा सबै सिट बाँडफाँटको कुरा अझै मिलिसकेको छैन । 

मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा सत्तामा रहेका दलहरूले तालमेल गर्ने निर्णय गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी (एस), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेलका लागि सिट बाँडफाँटको गृहकार्य गरिरहेका छन् ।

प्रदेश सभाको ३३० र प्रतिनिधि सभाको १६५ सिटको बाँडफाँटबारे गठबन्धनभित्र निरन्तर छलफल चलिरहेको छ । बुधवार साँझ ५ बजेका लागि गठबन्धन कार्यदलको बैठक बोलाइएको छ भने बिहीवार बिहान ९ बजे गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेर सिट बाँडफाँटमा सहमति गर्ने तयारी रहेको कार्यदलका एक नेताले जानकारी दिए । 

‘आजको बैठकबाट सकेसम्म सहमतिको प्रयास गर्छौं । नमिलेको निर्वाचन क्षेत्र र सिट संख्याबारे भोलि (बिहीबार) बस्ने शीर्ष नेताहरूको बैठकले टुंगो लगाउँछ,’ कार्यदलमा सदस्यको रूपमा काम गरिरहेका एक नेताले भने । 

उनका अनुसार अहिलेसम्म प्रतिनिधि सभाको कूल १६५ मध्ये १०० सिटको बाँडफाँटमा कुरा मिलिसकेको छ । बाँकी ६५ सिटमध्ये धेरैजसोमा आजको बैठकबाट टुंगो लगाउने र मिल्न नसकेका निर्वाचन क्षेत्रबारे शीर्ष नेताहरूले नै निर्णय गर्ने कार्यदलका ती सदस्यले जानकारी दिए । 

गठबन्धनभित्र कांग्रेसले ५० प्रतिशत र अन्य दलले बाँकी ५० प्रतिशतको आसपासमा सिट लिने गरी मोटामोटी रूपमा सिटको संख्या टुंगो लगाइएको छ । अहिलेसम्म कुरा मिलिसकेका १०० सिटमध्ये धेरैजसो कांग्रेसले दाबी गरेका निर्वाचन क्षेत्रहरू रहेको ती नेताले जानकारी दिए ।

‘कतिपय निर्वाचन क्षेत्रमा सबैजसो दलको दाबी छ । त्यसमा कार्यदलले निर्णय गर्न कठिन छ । ती निर्वाचन क्षेत्रबारे शीर्ष नेताहरूले नै छलफल गरेर निर्णय गर्नुहुन्छ । शीर्ष नेताले नै निर्णय गर्नुपर्ने करीब १०–१५ निर्वाचन क्षेत्र हुनसक्छन्,’ कार्यदलका अर्का एक नेताले लोकान्तरसँग भने । 

कुन दलले दाबी गरेको कति सिट बाँडफाँटमा सहमति भएको भन्नेबारे भने कार्यदलका ती सदस्य खुलाउन तयार भएनन् । ‘कार्यदलमा छलफल भएका धेरै कुरा बाहिर लैजाँदा हाम्रो काम प्रभावित भएको छ । कुन दलका लागि कति सिट निर्विवाद भयो भन्ने अहिले खुलाउन मिल्दैन । समग्रमा १०० सिट बाँडफाँटका विषयमा कुरा मिलेको छ,’ ती सदस्यले भने । 

साँझ बस्ने कार्यदलको बैठकमा जानुअघि कार्यदलका सदस्यहरूले आफ्ना दलका शीर्ष नेताहरूसँग परामर्श गरिरहेका छन् । 

शुरूमा नेपाली कांग्रेसका नेताहरूले १०० सिटमा दाबी गरेको भए पनि अहिले भने कांग्रेस ८५–९० सिटमा सहमत हुन तयार भएको कार्यदलका नेताहरू बताउँछन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई समेत समेट्ने अवस्थामा कांग्रेसलाई ९० सिटसम्म दिन अन्य दल सहमत भएको नेताहरूले बताएका छन् । 

२०७४ सालको निर्वाचनमा जितेको आधारमा सिट बाँटफाँट गर्ने र बाँकी सिटबारे छलफल गर्ने न्यूनतम मापदण्ड बनाएको सत्तारूढ गठबन्धनभित्र अहिले भने जीत र हारको अवस्थाको समेत विश्लेषण गरेर निर्वाचन क्षेत्र साटफेर गर्ने सहमति पनि बनेको छ । ‘हामीले जीतहारको अवस्थाको समेत विश्लेषण गरेका छौं । सिट बाँडफाँट भइसकेपछि गठबन्धनमा रहेका दलहरूबाट असहयोग हुने अवस्था नआओस् भन्नेमा अहिल्यै ध्यान दिने प्रयास गरिएको छ,’ ती सदस्यले लोकान्तरसँग भने । 

बिहीवार बिहान बस्ने शीर्ष नेताहरूको बैठकले प्रदेश र प्रतिनिधि सभा दुवैतर्फका सिट बाँडफाँटको टुंगो लगाएर सहमति गर्ने आन्तरिक तयारी भइरहेको कार्यदलका नेताहरूले बताएका छन् ।

‘धेरैजसो विषय आज साँझ बस्ने कार्यदलको बैठकले टुंगो लगाउँछ । केही विषय भोलि शीर्ष नेताहरूसँगै बसेर छलफल हुन्छ,’ ती नेताले भने । 

गठबन्धनको कार्यदलमा कांग्रेसबाट ३, माओवादी केन्द्रबाट २, नेकपा एकीकृत समाजवादीबाट २, जनता समाजवादी पार्टीबाट २ र राष्ट्रिय जनमोर्चाबाट २ जना सदस्य छन् ।

कार्यदलमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् ।

माओवादी केन्द्रबाट महासचिव देव गुरूङ र उपमहासचिव वर्षमान पुन सदस्य छन् । गुरूङ अस्वस्थ्य हुँदा अर्थमन्त्री जनार्दन शर्मा कार्यदलको बैठकमा सहभागी हुने गरेका थिए । 

एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल कार्यदलको सदस्य छन् । जनता समाजवादी पार्टीका कार्यकारी सदस्य रामसहायप्रसाद यादव र रकम चेमजोङ सदस्य छन् । राष्ट्रिय जनमोर्चाका तर्फबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् । 

कांग्रेसका नेता तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई कार्यदलको संयोजकको जिम्मेवारी तोकिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्