
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी चुनावमा १०० सिटभन्दा कम लिएर चुनावमा जाँदा पार्टीभित्रै विद्रोह हुनसक्ने चेतावनी दिएका छन् ।
विपी जन्मजयन्तीको अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले जनकपुरमा बिहीवार आयोजना गरेको ‘विपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौती’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।
‘यो गठबन्धन विचित्रको छ । एकातिर जननायक विपी कोइरालाले दिनु भएको विचार र सिद्धान्त बोकेको कांग्रेस छ । अर्कातिर आफूलाई कम्युनिष्ट भन्नेहरू छन् । उनीहरूसित हाम्रो केही कुरा पनि मिल्दैन । विचार र सिद्धान्त नमिले पनि गठबन्धन गर्यौँ’, कोइरालाले भने ।
एमालेले संविधानलाई ‘डिरेल’ गर्ने प्रयास गरेको कारण गठबन्धन बनेको र गठबन्धन पवित्र हो वा अपवित्र भन्ने कुरा चुनावपछि मात्रै थाहा हुने उनले बताए । एमालेलाई परास्त गर्नको लागि मात्रै गठबन्धन बनेको उनले दाबी गरे ।
तर, गठबन्धन गरेर पनि कांग्रेसले एकल बहुमत ल्याउन नसके विद्रोह र विग्रह हुने कोइरालाले बताए ।
‘गठबन्धन एकल बहुमत ल्याउन गर्ने हो । पाँच वर्ष स्थायी सरकार दिन्छौँ, भनेका छौँ । सरकार बनाएर जान मात्रै गठबन्धन सोचेको भए त्यसले हामीलाई अप्ठ्यारो पार्छ । बहुमत बनाउन कांग्रेसले सय सिट लिनुपर्छ, नत्र हुँदैन’, उनले भने ।
माओवादी र समाजवादीहरू कांग्रेसलाई सय सिट दिन तयार नभएको र गठबन्धन गर्दा धेरै सिट घट्न सक्ने उनले बताए ।
‘उहाँहरू सय सिट दिन तयार हुनुहुन्न । हामीले १६५ सिटमै उठ्यौँ भने पनि नपुग्ने अवस्था छ । तालमेल गर्दा धेरै सिट घट्न सक्छ । त्यसले हामीबीच विग्रह र विद्रोह आउँछ । कांग्रेसमा समस्या बढ्न सक्छ’, कोइरालाले भने ।
अहिलेको सरकारले गरिरहेको कामबारे पनि कोइरालाले प्रश्न उठाएका छन् । संक्रमणकालीन विषयसँग सम्बन्धित विधेयक र मिडिया काउन्सिल विधेयक गम्भिररूपमा अगाडि आइरहेको उनले बताए । पीडितले पुनरावेदन गर्ने अवसर पनि नदिने गरी विधेयक आएको भन्दै उनले त्यसलाई पुनर्विचार गर्नुपर्ने बताए ।
स्थानीय तहमा आवश्यकताको आधारमा गठबन्धन भएको तर, अहिले भने केन्द्रबाटै गठबन्धन गर्ने निर्णय भएको उनले बताए ।
चुनावको मिति घोषणा गरेर अर्को संसद् नबन्जुलेसम्म अहिलेको संसदको कार्यकाल हुने गरी विधेयक ल्याउन लागिएको तर, सञ्चारमाध्यमले त्यसमा प्रश्न उठाएपछि सच्चिएको पनि कोइरालाले बताए ।