२४ जेठ २०८३, आइतबार

अहिले पनि अस्थिरताको कारण प्रचण्ड हो, सिध्याउन पर्छ भनिन्छः प्रचण्ड

अहिले पनि अस्थिरताको कारण प्रचण्ड हो, सिध्याउन पर्छ भनिन्छः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निरन्तर संघर्षमा रहेको कारण प्रतिक्रियावादीहरूले प्रचण्डलाई सिध्याउनुपर्छ भन्ने अभिव्यक्ति दिइरहेको टिप्पणी गरेका छन् । 

२४औँ बासु (सुरेश वाग्ले) स्मृति दिवसको अवसरमा बिहीवार पर्यटन बोर्डमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संघर्षबाट नभाग्ने र अन्तिमसम्म डटिरहने बताएका हुन् । निरन्तर संघर्ष गर्ने प्रतिबद्धता नै सुरेश वाग्लेप्रति सच्चा श्रद्धाञ्जली हुने भन्दै प्रचण्डले अहिले आफू भिन्नरूपमा संघर्षमा रहेको बताएका हुन् । 

उनले भने, ‘म भिन्नरूपमा संघर्षमै छु । यो वर्ग युद्ध हो, वर्ग लडाइँ हो । जारी छ । संघर्षबाट रोकियो कि हामी सिद्धिन्छौँ । अहिले कसले जित्छ भन्ने कुराको अन्तिम फैसला भइसकेको छैन ।’

सुरेश वाग्ले संघर्षबाट नभाग्ने र सरदरभन्दा फरक विशेषता र चरित्रको भएको प्रचण्डले बताए । आफू संघर्षमा रहेकै कारण अर्को कित्ताबाट प्रहार भइरहेको उनको दाबी छ ।

‘मेलै मेरो ठाउँबाट संघर्ष गरिरहेकै छु भन्ने लाग्छ । मैले संघर्ष गरिरहेकै कारण अवसरवादी, प्रतिक्रियावादीहरूबाट माओवादी र प्रचण्डमाथि प्रहार भइरहेको छ । हिजो जनयुद्धको बेलामा पनि प्रहार भएकै थियो यो अपराधीहरूको हो भनेर । टाउकै काट्ने कुरा थियो’, प्रचण्डले भने, ‘अहिले पनि माओवादी अस्थिरताको कारक हो, प्रचण्ड रहँदासम्म यो देश अप्ठ्यारोमा परिराख्छ त्यसकारण प्रचण्ड सिध्याउन पर्छ भनिएकै छ ।’ 

माओवादीहरू संघर्ष छाड्दा सिद्धिने अवस्था आउने उनले बताए । आफूले संघर्ष नछाडेकै कारण अर्को कित्ताबाट प्रहार भइरहेको उनले बताए । 

‘मैले संघर्ष छाडेको भए प्रतिक्रियावादी र अवसरवादीहरूले त्यसो भन्नपर्ने आवश्यकता हुँदैनथ्यो । त्यसकारण अर्को कित्ताबाट प्रहार भएकै छ । म अन्तिम समयसम्म संघर्षमा रहनेछु’, उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्