
नवौँ राष्ट्रिय खेदकुद प्रतियोगिताअन्तर्गत काठमाडौंमा बिहीवारदेखि शुरु भएको पुरुष क्रिकेट खेलमा एनआरएन एकेडेमीले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एनआरएनले सुदूरपश्चिमलाई १२ रनले पराजित गर्दै विजयी हात पारेको हो । खेलमा पहिले ब्याटिङ गरेको एनआरएनले सुदूरपश्चिम प्रदेशलाई ७५ रनको लक्ष्य दिएको थियो । जवाफमा सुदूरपश्चिम छ ओभरमा छ विकेट गुमाउँदै ६२ रनमा समेटियो ।
वर्षाका कारण खेल मैदान भिजेपछि निर्धारित समयभन्दा ढिला शुरु भएको खेललाई छ ओभरमा घटाइएको थियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक १२ रनको योगदान दिए भने कप्तान राजु रिजालले ११ रन जोडे । त्यसैगरी बसन्त खत्री १० रनमा आउट हुँदा शेर मल्लले आठ रन बनाए । लोकेन्द्र चन्दले सात, बसन्त कार्की र नारायण जोशीले समान ४÷४ रन बनाए ।
बलिङतर्फ एनआरएनका आशिष पोखरेल र दिपक क्षेत्रीले समान ३÷३ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एनआरएनका लागि सागर पुनले सर्वाधिक ४६ रनको योगदान दिए भने कप्तान सुमन गौतमले २५ रनको योगदान दिए ।
बलिङमा सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्ले समान २/२ विकेट लिए । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्गत पुरुष क्रिकेटमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएन गरी ११ टोलीको सहभागिता रहेको छ । रासस