१९ असार २०८३, शुक्रबार

सिकलसेलको अनुसन्धान केन्द्र निर्माण शुरु

सिकलसेलको अनुसन्धान केन्द्र निर्माण शुरु

बाँकेको जानकी गाउँपालिका–३ मा सिकलसेल एनिमियाको सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र निर्माण कार्य शुरु भएको छ । उक्त अनुसन्धान केन्द्रको शहरी विकासमन्त्री मेटमणी चौधरीले बिहीवार शिलान्यास गरेका छन् । 

मन्त्री चौधरीले सिकलसेल अस्पतालको भवन निमार्णका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अनुसन्धान केन्द्रका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मी, चिकित्सक र भौतिक पूर्वाधारको व्यवस्थापन आवश्यक रहेको बताए । पश्चिम तराई बाँके, बर्दियालगायतका जिल्लाका थारु समुदायमा सिकलसेलका बिरामी रहेका छन् । 

उपचार अभावमा कतिपय सिकलसेल पीडितहरुले ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गर्दै थारु स्वास्थ्यकर्मीको पहलमा छुट्टै अस्पताल निमार्ण गर्न थालिएको हो । अस्पताल निमार्णका लागि विभिन्न अगुवाहरुले आर्थिक सहयोगसमेत गरेका छन् । 

सो रोगका बिरामीको शरीर, हाडजोर्नी दुख्ने, पटकपटक जण्डिस, रक्तअल्पता र निमोनियाको समस्या देखिने चिकित्सकहरू बताउँछन् । सिकलसेलको पहिचान हुन नसक्दा अधिकांश पीडितले बाथ, यूरिक एसिड, हाडजोर्नी र नसा रोगको औषधि सेवन गर्न बाध्य छन् । बाँकेको कोहलपुर, राप्ती सोनारी र बैजनाथमा थारु समुदायको बाहुल्य बढी रहेकाले त्यहाँ यसका बिरामी बढी देखिएका छन् । सो रोग पत्ता लगाउन स्क्रिनिङ गराउन आवश्यक हुन्छ ।
 
यसैबीच सहरी विकासमन्त्री चौधरीले नेपालगञ्जस्थित भेरी अस्पतालको नवनिर्मित भवनको पनि बिहीवार नै निरीक्षण गरेका छन् । सो अवसरमा उनले तीन महिनामा काम सक्न निर्देशन दिए । निर्माण व्यवसायीले पनि तीन महिनाभित्रै काम सक्ने प्रतिबद्धता जनाएका छन् । रासस
 

salt training

कमेन्ट गर्नुहोस्