
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा आएका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे बिहीवार स्वदेश फर्किएका छन् । पाँच दिने औपचारिक भ्रमणका क्रममा गएको आइतवार काठमाडौं आएका पाण्डे बिहीवार भ्रमण पूरा गरी स्वदेश फर्किएका हुन् ।
भारत फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका थिए ।
नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ सेनापतिको दर्ज्यानी चिह्न पनि प्रदान गरिएको थियो । नेपाल र भारतका सेनाध्यक्षहरूलाई एक अर्का देशको मानार्थ महारथीको दर्जा दिने ऐतिहासिक परम्पराको निरन्तरता स्वरुप उनलाई भदौ २० गते दर्ज्यानी चिह्न प्रदान गरिएको थियो ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिएकी थिइन् । सोही दिन पाण्डेको सम्मानमा नेपाली सेनाका प्रधान सेनापति शर्माले जंगीअड्डामा रात्रीभोज आयोजना गरेका थिए । उक्त रात्रिभोजमा रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका सचिवहरू तथा पूर्वप्रधान सेनापतिहरूको समेत उपस्थिति रहेको थियो ।
भ्रमणको क्रममा जंगी अड्डामा प्रधान सेनापति शर्मा र भारतीय स्थल सेनाध्यक्ष पाण्डेबीच औपचारिक भेटवार्ता भएको थियो । उक्त भेटवार्ताका क्रममा दुई देशको आपसी सुरक्षा चासोका विषयहरुमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
पाण्डेले भ्रमणको क्रममा प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेट गरेका थिए । उनले जंगी अड्डामा आयोजित विभिन्न कार्यक्रमहरूमा सरिक भएका थिए । उनले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टरको समेत भ्रमण गरेका थिए ।
यस भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।