
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले नेपालको दिगो विकास लक्ष्य पूरा गर्न पूर्वाधारमा जीडीपीको करिब ९.५४ प्रतिशत लगानी हुनुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीवार परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् ।
उनले पूर्वाधार विकासमा जीडीपीको करिब ९.५४ प्रतिशत लगानी हुनुपर्ने भए पनि अहिले ३ प्रतिशत मात्रै भएको बताए । अध्यक्ष अग्रवालले मुलुकमा तीव्र आर्थिक विकासको लागि पूर्वाधार निर्माण आवश्यक रहेको बताए । उनले आर्थिक विकासको लागि भौतिक पूर्वाधार मात्रै नभई प्रविधिको विकास पनि आवश्यक रहेको बताए ।
‘राष्ट्रिय योजना आयोगका अनुसार दिगो विकासको लक्ष्य भेटाउन वार्षिक २० अर्ब डलर पूर्वाधारमा लगानी गर्नुपर्ने हुन्छ । तर, पछिल्लो १० वर्षको बजेट कार्यान्वयनको तथ्याङ्क हेर्ने हो भने जीडीपीको करिव ३ प्रतिशत मात्रै पुँजीगत खर्च सरकारले गर्न सकेको देखिन्छ । अहिले मुलुकको जिडीपीको आकार ४८ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ । यो वर्ष ४.५ प्रतिशतभन्दा कम पुँजीगत खर्च हुने अनुमान गरिएको छ’, उनले भने, ‘पूर्वाधार विकासको विकास गर्न पुँजीगत खर्च बढाउन आवश्यक छ ।’
उनले अहिले विश्वभर पुँजी लगानीको समस्या नभएको बताएका छन् । ‘अहिले विश्वका कुनै पनि देशमा पुँजी लगानी गर्न समस्या छैन । यसको लागि केही नीतिगत सुधार र विश्व बजारसँग जोडिने वित्तीय उपकरणहरू व्यवस्था गर्नुपर्छ’, उनले भने, ‘नेपालमा वैदेशीक लगानी आकर्षित र सुरक्षित कति रहेको छ भनि हेर्न मौखिक रुपमा नभएर प्रविधि रुपमा हेर्न चाहन्छ ।’